चितवन, ०६ साउन। चितवन, तनहुँ र नवलपुर जिल्लाको वेणी संगम एवम् हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा साउनको पहिलो सोमबार (आज) स्नान गर्न आउने भक्तजनहरूको घुइँचो लागेको छ। आइतबार देखि नै देवघाट आएर रात बितार्इ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन्।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहानैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ। पानीमा सम्भावित दुर्घटना हुनबाट रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको उनले बताए। साथै सुरक्षाको प्रबन्ध, प्राथमिक स्वास्थ्य टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
हरेक वर्ष साउन महिनाको पहिलो र अन्तिम सोमबार यो सङ्ख्या बढी हुने गर्दछ। मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा समेत लिने गरिन्छ। देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन्।
पहेँलो बस्त्र लगाएर खाली खुट्टामा समेत बोलबम भन्दै भक्तजन आएका छन्। देवघाट त्रिशुली र कालिगण्डकी नदी दोभान हो। त्यहाँ नुहाउन माघे संक्रान्तिमा देवताहरु पनि आउँछन् भन्ने किम्वदन्ती रहेको छ।


























