कैलाली, ०६ साउन। कैलालीमा धारिलो हतियार प्रयोग गरी आफ्नै छोराले बुवाको हत्या गरेका छन्। घोडाघोडी नगरपालिका–११, सिसैयाका ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे हँसिया प्रहार गरी ७५ वर्षीय बाबु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
बाबुमाथि भएको आक्रमणको प्रतिकार गर्दा आमा नन्दे रावतसमेत घाइते भएकी छन्। उदेले आमामाथि पनि धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोराको आक्रमणबाट गम्भीर घाइते भएकी आमा नन्देलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
घरायसी विवादमा छोराले आफ्नै बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जनाएको छ। हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

























