काठमाडौँ, २८ असार। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण देशभरका ३२ जनाले अकालमै ज्यान गुमाएका छन्। १७ जना वेपत्ता छन् भने १२ जना घाइते भएका छन्। विभिन्न जिल्लामा बाढी पहिरोमा फसेका ८३१ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।
बाढी पहिरोबाट ललितपुरमा पाँच तथा काठमाडौँ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन/तीन जनाको मृत्यु भएको छ भने धादिङ र सिन्धुलीमा दुई/दुई जनाको मृत्यु भएको उनले बताए।

यस्तै ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक जनाको मृत्यु भएको उनले बताए। बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Facebook Comments


























