चितवन, २४ असार। चितवन मेडिकल कलेजले विद्यार्थीहरूमाथि लुट मच्चाएको भन्दै कलेजका विद्यार्थी आन्दोलनमा होमिएका छन्। इन्स्टिच्युट अफ मेडिसिन (आइओयु)ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस, बीडीएस, नर्सिङ तथा बीएमएलटी अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।
विद्यार्थीलाई व्यक्तिअनुसार मनलाग्दी रूपमा शुल्क उठाएको उनीहरूको आरोप छ। आइओयुले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरूको लागि ४२ लाख ५० हजार रूपैयाँ शुल्क तोकेको छ। तर, चितवन मेडिकल कलेजले व्यक्ति हेरी ६५ लाख रूपैयाँसम्म शुल्क लिएको एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले दावी गरेका छन्। बढी लिइएको शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन गरिएको विद्यार्थीको भनाइ छ।

बुझाएको रकमको रसिद माग्दासमेत कलेजले नदिइएको उनीहरूले बताएका छन्। ‘बोल्न नसक्ने विद्यार्थी सबैभन्दा समस्यामा छन्,’ एक विद्यार्थीले भने, ‘किनकि मान्छे हेरेर शुल्क लिने गरेको छ।’ उनका अनुसार कलेजले विद्यार्थीलाई डरैडरमा पढ्नुपरेको उनले सुनाए। शुल्ककै विषयलाई लिएर अभिभावकलाई मानसिक दबाब दिने गरेका छन्।
परीक्षाको बेलामा बढी मानसिक तनाव दिने गरेको उनको भनाइ छ। कलेजले परीक्षा शुल्कमा समेत अनियमितता गरेको विद्यार्थीहरूको आरोप छ। विद्यार्थीहरू मर्कामा परेपछि विगत एक हप्तादेखि विभिन्न खालका प्रयास गरिए पनि कलेजले वास्ता नगरेपछि आन्दोलन गर्न बाध्य भएको अर्का विद्यार्थीको भनाइ छ।
‘हामीले एकहप्तासम्म कलेजलाई मागपत्र बुझाएर ध्यानाकर्षण गरायौँ,’ उनले भने, ‘तर, वास्ता नगरेपछि हामी सतहीमै आउन बाध्य भएका हौँ।’ अझै पनि माग पूरा नभए आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने चेतावनी दिएका छन्।


























