काठमाडौँ, २४ असार। नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउने कार्यले तत्काल पूर्णता नपाउने भएको छ। ‘सेफ्टी अडिट’को प्रतिवेदन आउन बढीमा ९० दिन लाग्ने भएपछि चीन उडान बढीमा तीन महिना पर सर्ने पक्का भएको हो। यसअघि चीन सरकारले ग्वाङ्झाउमा आफ्नो जहाज उडाउने प्रारम्भिक स्वीकृति दिइसकेको थियो।
तर, अहिले आएर आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडित’ गरेपछि मात्रै उडान अनुमति दिने भन्दै चीन सरकारले झमेला निकालेको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको छ। सोहीअनुसार निगम व्यवस्थापनले पनि एक टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जिम्मा दिएको खरेलले जानकारी दिए।
चीनले नेपाल एयरलाइन्समा चिठी पठाउँदै टोली ‘सेफ्टी अडिट’का लागि नेपाल आउन लागेको जानकारी गराएको थियो। अडिटका सम्बन्धमा ४९ पानाको चेकलिस्ट पनि उसले पठाएको छ। त्यसमध्ये मुख्य चासो यूरोपेली यूनियनको सुरक्षा सूचीसँग सम्बन्धित रहेको कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए। ‘धेरैजसो चासो नेपाल वायुसेवा निगमसँग भन्दा बढी नेपाली वायुसेवा उद्योगका सम्बन्धमा रहेको छ,’ उनले भने, ‘इयूले उठाइरहेकै विषयलाई उनीहरुले पनि चासोका रुपमा हेरेको देखिन्छ।’
चीनबाट नेपालमा ५ वटा वायुसेवाले उडान भर्दै आएको छ। तर, चीनले नेपालबाट भने वायुसेवा कम्पनीहरुलाई उडान अनुमति दिएको छैन। नेपाल र चीन बीचको द्विपक्षीय हवाई सम्झौताअनुसार हुने साताको ७० उडान अहिले एकतर्फी भइरहेको छ। सम्झौताअनुसार दुवैतर्फबाट उडान हुनुपर्ने भए पनि चीनको आफ्नै लगानी रहेको हिमालय एयरलाइन्सले समेत चीनमा उडान बिस्तार गर्न सकेको छैन।


























