काठमाडौँ, २२ असार। तीन दशकदेखि सङ्गीत साधनामा सक्रिय वरिष्ठ कलाकार सुदर्शन राजोपाध्यायलाई सम्मान गरिने भएको छ। भारतको प्रसिद्ध एनआरवी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मान गर्न लागेको हो।
वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिए। यही असार २९ गते भारतको राजस्थानमा आयोजना हुने कार्यक्रममा उनलाई सम्मान गरिनेछ। उक्त कार्यक्रममा नेपालसहित भारत, माल्दिभ्सलगायतका देशबाट पनि सहभागिता हुनेछ। अन्तरराष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोदवादन कार्यक्रम पनि प्रस्तुत हुनेछ।
सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारबाट समेत सम्मानित राजोपाध्यायले सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेका छन्। नेपाल र भारत गरेर दर्जनौँ सरोदवादनका कार्यक्रम गरिसकेका उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम भएका थिए।
नेपालमा ‘शास्त्र सम्मान २०१८’, ‘सेभ दी नेशन अवार्ड’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित उहाँका नेपाली र नेवारी गरेर चर्चित ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हु’, ‘निन्हु’, ‘छगू’ ‘मतिना’ लगायतका क्यासेट तथा सिडी बजारमा पाइन्छन्। जापानी भाषामासमेत गीत गाइसक्नुभएका उहाँका शास्त्रीय सङ्गीततर्फ ‘वन डे रागाज’, ‘सोलफूल म्युजिक फर मेडिटेसन’, भारतबाटै ‘सुरिल म्यूजिक इन २०१५’ प्रकाशित छन्। -रासस


























