दुल्लु, २४ जेठ। वि.सं. २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाइते भए। अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा उनी जलेर घाइते भएका थिए। त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महिना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो।
आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो। कपिललाई काठमाडौँको ट्रमा सेन्टरमा उपचार गरिएको थियो। आगोले पाखुरा, ढाड, पेटसहित शरीर जलेका उनलाई एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि मात्रै काठमाडौँ लगिएको थियो। त्यसबेला उनको घाउ पाकेर सङ्क्रमण फैलिएको थियो।
राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा कपिललाई उपचारका लागि काठमाडाँै लैजानुअघि समुदायको झारफुक र जडीबुटी नै प्रयोग गरिएको थियो। समयमै उपचार नपाएपछि घाउ बल्झिएर कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए। काठमाडौँमा उपचार गरेर फर्किएका कपिलको पुनः घाउ बल्झिएपछि दुई वर्षअघि दैलेख अस्पतालमा उपचार गराएका थिए। त्यसबेला दैलेख अस्पतालले निःशुल्क स्वस्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध गराएको थियो।
काठमाडौँ र दैलेखको भैरवी गाउँपालिका–५ लैनचौरमा बस्ती रहँदा दैलेख अस्पतालमा उपचार गराएका राउटे युवा कपिलको घाउ अझै निको हुनसकेको छैन। परम्परागत औषधि उपचारलाई मुख्य ठान्दै आएका राउटे समुदाय पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको सङ्केत देखिन थालेको छ तर उनको घाउ निको हुन सकेको छैन।
घाउ झनै बल्झिदै गएको छ। कपिलको घाउ बढ्दै गएको छ। ‘घाउ पाक्न थालेको छ, बेला–बेला बेस्सरी दुख्छ,’ कपिल भन्छन्। घाउकै कारण कुनै पनि काम गर्न नसकेको उनी बताउँछन्। ‘हात चलाउन पनि मिल्दैन, अरु काठका भाँडाकुडा बनाउँछन्,’ उनी भन्छन्, ‘तर, यही घाउका कारण मैले काम गर्न सकेको छैन, ठूलो र सुविधासम्पन्न अस्पतालमा गएर उपचार गराउन पाए घाउ सञ्चो हुन्थ्यो कि ?’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटे समुदाय गतसाता मात्रै दैलेखको गुराँस गाउँपालिकामा बस्ती सरेका छन्। हाल राउटे समुदायको संख्या १४६ छ। -रासस