‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले स्थानीयबाट सुरक्षाको ग्यारेण्टी गर्न सके गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तत्काल गर्न तयार रहेको बताएका छन्। शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कट्टेलले भने, ‘त्यो ठाउँको सुरक्षामा सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेकै स्थानीयको हुन्छ। त्यसैले स्थानीयले त्यहाँ भत्काइएको बार जस्ताको त्यस्तै बनाएर काम गर्ने वातावरण मिलाइदिए हामी एक सेकेण्ड पनि नरोकी काम गर्न तयार छौँ। तर, सुरक्षाको लागि हामी जिम्मेवार छौँ भनेर स्थानीयले प्रतिवद्धता जनाउनुपर्यो।’
तर, घटनामा केही निर्दोष व्यक्ति पनि परेका छन् भने प्रहरी प्रशासनले छानविन गरेर तत्काल छाडिदिन पनि उनले आग्रह गरे। ‘जो दोषी हो उसले सजाय भोग्नैपर्छ, किनकि देश विदेशमा रहेका नेपालीको पसिनामाथि डोजर चलाइएको छ,’ उनले भने, ‘तर, निर्दोष व्यक्ति समातिएका छन् भने छानविन गरेर तत्काल छाडिदिन प्रहरी प्रशासनसँग पनि आग्रह गर्दछौँ।’ धुर्मुस–सुन्तली कसैको घर भत्काउन, बस्ती उजाड बनाउन आएको नभई विकासको लागि चितवन आएको उनले स्पष्ट पारे। ‘त्यसैले स्थानीयबाट सकारात्मक सहयोग पाउनेमा हामी आशावादी छौँ,’ उनले भने।

चितवनबाट जम्मा १४ लाख
तीन अर्बको लागतमा निर्माण गर्न लागेको रंगाशाला निर्माणको लागि अहिलेसम्म चितवनबाट जम्मा १४ लाख रूपैयाँ मात्रै नगद सहयोग जुटेको छ। फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार घोषणा भने एक करोड ८५ लाख रूपैयाँ भइसकेको छ। तर, अहिलेसम्म नगद सहयोग जम्मा १४ लाख ७ हजार ५६७ रूपैयाँ मात्रै संकलन भएको उनले बताए।
फाउण्डेशनले रंगाशाला निर्माणको लागि जग्गाको खोजीमा चितवन आउँदा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रंगाशाला निर्माणमा लाग्ने कूल खर्चमध्येको आधा लागत भरतपुर महानगरपालिकाले उठाउन सक्ने वचन दिएकी थिइन्। तर, महानगरपालिकाको तर्फबाट अहिलेसम्म आर्थिक सहयोग भएको छैन।
निर्माण व्यवसायी रेगम पन्तले गरे दुई लाख सहयोग
रंगाशालामा स्थानीयबाटै डोजर चलाइएपछि विश्वभर रहेका नेपालीसामु नकारात्मक सन्देश फैलिएको छ। त्यसैलाई चिर्न भरतपुरबाटै सहयोग जुटाउनुपर्ने भन्दै शुक्रबार भरतपुरका रेगम पन्तले नगद दुई लाख रूपैयाँ सहयोग घोषणा गरेका छन्। चितवन जिल्लामा रंगाशाला बन्न लागेकोले हरेक हिसाबमा अरू जिल्लाभन्दा चितवन जिल्लाको भूमिका विशेष हुनुपर्ने भन्दै व्यक्तिगत रूपमा आफ्नो तर्फबाट दुईलाख रूपैयाँ सहयोग गर्ने घोषणा गरिएको उनको भनाइ छ।

सोही क्रममा भरतपुर गार्डेन रिसोर्टले पनि नगद एक लाख एक रूपैयाँ सहयोग गरेको छ। रिसोर्टमा कार्यरत कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम संकलन गरेर फाउण्डेशनलाई सहयोग गरिएको होटलका म्यानेजिङ डाइरेक्टर दिलीप मैनालीले जानकारी दिए। ‘हिजो जुन घटना भयो, त्यो ज्यादै निन्दनीय छ,’ उनले भने, ‘यहाँ जे हुन लागेको छ, त्यो हाम्रै लागि हो, त्यसैले हामीबाटै सहयोग हुनुपर्छ। अझ यस विषयमा चितवन जिल्ला अझ गम्भिर बन्नुपर्छ।’