
– ईश्वर कँडेल
भौगोलिक हिसाबले देशकै मध्य भागमा अवस्थित छ चितवन जिल्ला, जहाँ प्राकृतिक रूपमै सौन्दर्य बोकेको जिल्ला हो। अझै वसन्त ऋतुमा चितवनको दृश्य नै मनमोहक देखिन्छ। शहर या गाउँ, हरेक स्थानमा विभिन्न प्रजातिका फूलका रूखहरू रङ्गिन देखिएका छन् यतिबेला। ठूला रूखहरूमा गुलमोहर, राजवृक्ष र स–साना झाडी प्रजातिका फूलहरू सडक छेउमा फुलेका छन्। यति सुन्दर मनमोहक दृश्य देखेर कस्को मन लोभिँदैन र ?

कवि लेखनाथ पौड्यालले आफ्नो खण्डकाव्य ‘ऋतु बिचार’मा वसन्त ऋतुसँगै फुलेका फूलको बयान गरेका छन्,
वनमा वागमा राम्रा पुष्प लाखौँ थरि फुले
कुससुमाकर यो नाम सार्थ पारयो वसन्तले
आफ्नू शिल्प–सौन्दर्य–महिमाको प्रदर्शनी
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी
प्रत्येक पुष्पको रूप, रेखा, रङ अनेक छ
तर, सौन्दर्यको ज्योति उनमा भित्र एक छ
बेली, जाई जुही, चम्पा, चमेली, मधु–माधवी
सबैमा भरियेको छ भरिलो मोहिनी छवि
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती
साराको भिन्न भिन्नै छ वासना ‘रूप’ आकृति

माथिका यी हरफहरू त केवल उदाहरण मात्रै हुन्। उक्त खण्डकाव्यमा कवि पौड्यालले एउटै बगैँचामा फुलेका हजारौँ फूललाई ओच्छ्याएको बुट्टे तन्नाको रूपमा समेत चित्रण गरेका छन्। हुन पनि यो मौसम नै फूलैफूलको मौसम हो। जहाँ हेरे पनि फूल फुलिरहेको देखिन्छ। हुन त चितवनलाई धेरैले धेरै तरिकाले बयान गर्ने गर्छन्। कविले कवितामा, गजलकारले गजलमा, मुक्तककारले मुक्तकमा त गायक तथा संगीतकारहरुले गीतमार्फत बयान गरिरहेकै छन्। तर, चितवनको बयान जति नै गरे पनि कम नै हुन्छ। अझ यतिबेलाको मौसमले चितवनको बयान नगरी बस्नै नसक्ने पनि बनाउँछ। वनमा ठूलाठूला वृक्ष रंगीविरंगी भएको दृश्यले सबैको मन लोभ्याउँछ। अझ चितवन जिल्लालाई फरक दृष्टिकोणबाट पनि ब्याख्या गर्न सकिन्छ। चितवनको पहाडी भेगबाट मात्र नभई समथर भूभागबाटै सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ।

संसारमै सु–प्रसिद्ध चितवन राष्ट्रिय निकुन्ज यहाँको अर्को आकर्षणको केन्द्र हो। यतिबेला यहाँ विभिन्न प्रजातिका चराचुरुंगी देख्न सकिन्छ, जसले पनि चितवनको सुन्दरतामा गाढा रंग भरिदिएको छ। पाटेबाघ, एकसिङ्गे गैंडा, बँदेल, हरिण, जरायोलगायतका जङ्गली जनावर त यहाँ बाह्रैमास फुलिरहने सुन्दर फूलहरू हुन्। अहिले चितवनमा गर्मी अत्याधिक छ। तर, प्रायः हरेक दिनजसो पानी परिरहेकोले केही सितलता पनि महसुस भएको छ। त्यसैले यो समयलाई चितवन घुम्ने सुन्दर समयको रूपमा पनि लिन सकिन्छ।

महाभारत पर्वत श्रृङ्खलाकै अग्लो चुली सिराइचुली, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी जस्ता ऐतिहासिक क्षेत्र पैदलयात्राको सुन्दर मार्ग पनि हो। प्रकृतिको सुन्दर क्षेत्रले भरिएको यस क्षेत्रमा चराका विभिन्न प्रजातिसँगै सुन्दर जङ्गली फुल स्वदेशी तथा विदेशी पाहुनाहरूको स्वागतको लागि सधैँ आतुर देखिन्छन्। चिसो हावापानी, लालीगुराँसको वन, अर्गानिक खाना, तराईको समथर भूभागमा आकर्षक घाँसेमैदान, भरतपुर क्षेत्रका सुविधासम्पन्न होटल, सुन्दर देवघाट क्षेत्र, सौराहा, मेघौली, पटिहानीलगायत यहाँको प्रमुख आकर्षणका केन्द्र हुन्।

विशेष गरि यस क्षेत्रलाई अझै सुन्दर र आकर्षक बनाउन शहरी क्षेत्रमा सडकका दुई किनारमा सुन्दर फूल फुल्ने प्रजातिका रूखहरू जस्तैः गुलमोहर र राजवृक्ष हुर्काउन सकिन्छ। साँझको अर्को आकर्षणको केन्द्र हो, नारायणी नदि किनार। राप्ती नदिमा देखिने गोहीका विशेष दुई प्रजाति, पानी चराका जातिहरू, सुर्यास्तको मनै हर्ने दृष्य, पर्यटहरूको भीड, खानाका स्थानीय परिकार, निकुन्जभित्र हात्ती र जीप सफारीको आनन्द लिन सबैलाई हार्दिक निमन्त्रणा गर्दछ चितवन।

(लेखक अक्षर समुह चितवनका अध्यक्ष हुनुहुन्छ।)