शनिबारबाट पुनः निर्माणकार्य सञ्चालन
चितवन, १८ जेठ। रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको निर्माण कार्य पुनः सुचारू भएको छ। शनिबार बिहान, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेकपाका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ट, विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा अनौपचारिक बृहत् सभा नै आयोजना गरेर पुनर्निर्माण सुरू गरेको हो।

उक्त सभामा बोल्दै प्रतिनिधि सभा सदस्य पोखरेलले एक दुईजनाबाट गल्ती गरे पनि सबैबाट गल्ती नहुने भन्दै काम नरोक्न आग्रह गरे। आगामी दिनमा यस्ता घटना हुन नदिनेसमेत उनले प्रतिवद्धता जनाए। मेयर रेनु दाहालले पनि देशकै गौरवको विषय भएकोले स्थानीयले भाँजो हाल्न नहुने बताइन्। कार्यक्रममा मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याइसकेको भन्दै स्थानीयले पनि सक्दो सहयोग गरेर समयमै काम सम्पन्न गर्नुपर्ने बताए। विभिन्न टोल सुधार समितिबाट रंगाशाला निर्माण गर्नुपर्छ भन्दै प्लेकार्डसहित कार्यक्रममा उपस्थित भएका थिए। सामाजिक अभियानमा सक्रिय वे ग्रुपका अभियन्ता पनि ‘भत्काउनेले बनाउनै पर्छ’ लेखिएको प्लेकार्डसहित खेल मैदानमा उपस्थित भएका थिए।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएपछि फाउण्डेशनले काम गर्न नसक्ने भन्दै स्थगित गरेको थियो। तर, अहिले सबैको साथ र सहयोग पाउने र आगामी दिनमा त्यस्ता कृयाकलाप दोहोरिन नदिने स्थानीयबाटै प्रतिवद्धता जाहेर भएपछि शनिबारबाट पुनः निर्माण कार्य सुचारू गरेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए। उक्त घटनाले विश्वभर रहेका नेपालीसामु नकारात्मक सन्देश फैलिएको भन्दै सकारात्मक सन्देश दिन शनिबार स्थानीयबाटै आर्थिक संकलनसमेत भएको छ।
