काठमाडौँ, ०४ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुनले गौतमबुद्धबाट व्यक्त शान्ति, अहिंसा र सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन्। शान्तिका अग्रदूत, बुद्ध धर्मका प्रवर्तक भगवान गौतम बुद्धको २५६३औँ जन्मजयन्तीको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुन भने, ‘विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा छन्। त्यसैले अहिंसा र सत्यको महत्व झन् बढ्दै गएको छ।’
सत्य, अहिंसा र सदाचार आदि बुद्धले देखाएका सत्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहेको उनको भनाइ छ। ‘भगवान गौतम बुद्धको उपदेशलाई हृदयाङ्गम एवम् आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन सक्छ,’ उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
भगवान गौतम बुद्धको उपदेशलाई हृदयाङ्गम एवम् आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन सक्छ,’
शनिबारै किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा)को पनि ठूलो पर्व उभौली तथा चण्डीपूर्णिमा समेत परेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले देशविदेशमा रहेका सम्पूर्ण किरात समुदायमा शुभकामना व्यक्त गरेका छन्।