काठमाडौँ, ०४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन्। २५६३औँ बुद्ध जयन्तीका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरि संसारलाई दीक्षित गरेका छन्।’
संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करूणा र अहिंसाको शिक्षा दिएको उनले बताए। ‘भगवान गौतम बुद्धले जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ,’ उनले भने।
‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरि संसारलाई दीक्षित गरेका छन्
बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुत्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रूपमा अवलम्बन गरि संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डाेर्याउन खोजेको सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलको रूपमा विकास गर्न सरकार सधैँ सकारात्मक रहेको भन्दै बुद्ध जयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्ध प्रदत्त ज्ञानलाई शिरोधार्य गरि विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।
यस्तै प्रधानमन्त्री ओलीले किराँत समुदायको उभौली पर्वको अवसरमा किराँत समुदायप्रति शुभकामना व्यक्त गरेका छन्। सन्देशमा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीको एकता गर्व गर्न लायक छ।’ नेपालीले यस विविधतालाई एकताको प्रमुख सूत्रको रूपमा स्वीकारेका उनको भनाइ छ। ‘जुन, विश्वका अरू देशका लागि पनि प्रेरणाको स्रोत बनेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो जातीय विविधतामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइन, तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र सांस्कृतिक सद्भाव कायम राखे।’
सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई साकार पार्न प्रयत्नशील रहेको उनले बताए। ‘वर्तमान सरकार समानतासहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ,’ उनले भने, ‘यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यवद्धताको आवश्यकता छ।’