काठमाडौं, २४ बैशाख। पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ। मंगलबार नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले अक्षय तृतीया पर्वलाई पर्यटनसँग जोड्ने प्रवद्र्धनात्मक कार्यको थालनी गरेको हो।
‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ भन्ने मूल नाराका कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए। संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्त्व हुने उनको भनाइ छ।
यस्तै नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतले देश कति सम्पन्न छ भन्ने कुरा त्यहाँको संस्कृतिमा निर्भर रहने बताए। उनले नेपालको संस्कृतिको प्रवद्र्धनमा पर्यटन बोर्डले सधैँ सहकार्य गर्ने प्रतिवद्धता जनाए।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष चन्द्र रिजालले संस्कृतिको धनी नेपालले विभिन्न मौलिक पर्वको माध्यमबाट समृद्धि हासिल गर्न सक्ने बताए। जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले हिमालदेखि तराईसम्मको मौलिक संस्कृतिलाई एकै सुत्रमा बाँध्ने अक्षय तृतीयाबारे प्रकाश पार्दै मौलिक पर्वको उजागर गर्न पर्यटन पत्रकार संघले नयाँनयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए।