काठमाडौँ, २४ बैशाख। सञ्चार सूचना तथा प्रविधि मन्त्रालयले मंगलबार आठ जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितप्रवर्द्धन र जनतालाई सु–सूचित गराउन योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकारद्वय वद्रीविनोद खनाल ‘प्रतिक’ र तीर्थ कोइरालासहित पत्रकारहरू निर्मला शर्मा, माधव भण्डारी ‘विद्रोही’, खिलबहादुर भण्डारी, उमीदप्रसाद बाग चन्द, डण्डबहादुर गुरूङ, र मालाकुमारी कर्णलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पुरस्कृत गरिएको हो।
वरिष्ठ पत्रकारहरूलाई जनही नगद दुईलाख रूपैयाँ र अन्य छजनालाई भने जनही नगद एकलाख रूपैयाँसहित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’मार्फत पुरस्कृत गरिएको हो। उक्त पुरस्कार हरेक वर्ष नेपाल सरकारबाट प्रदान गरिँदै आएको छ। वि.सं. २०६४ सालदेखि सुरू भएको पुरस्कारबाट हालसम्म ४४ जना पत्रकारहरू पुरस्कृत भइसकेका छन्।
वि.सं. २०७५ सालको पुरस्कारको लागि नेपाल सरकारले गत चैत २८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङको संयोजकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य पूर्व अध्यक्ष डा.महेन्द्र बिष्ट, डा. राजेश अहिराज, बविता बस्नेत र मन्त्रालयका सहसचिव ऋषिराम तिवारीसहितको सिफारिस समिति गठन गरेको थियो।


























