कास्की, २४ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिएका छन्। सोमबार पोखरा महानगरपालिकाको वडा नं. २३ र २४ जोड्ने ठूलाखेतको खहरेखोलामा बनाउन लागेको पक्की पुलको सिलान्यास गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘सबै काम समयमै नसकाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्कापट्टाबाटै बञ्चित गराउँछौँ।’
हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत पर्ने पुलको निर्माण कार्यमा समेत ढिलाई नगर्न निर्माण कम्पनीलाई सुझाव दिए। प्रत्यक्ष सुविधाबाट बञ्चित जनताको लागि काम गर्ने कुनै पनि निर्माण कम्पनीले लापारवाही गरेको पाइएमा कारवाहीको भागीदार बन्न सक्नुपर्ने उनको भनाइ छ। कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल हुँदै पञ्चासेसम्म पुग्ने उक्त सडकमा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा यातायात सुविधाबाट वञ्चित थिए।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको छ करोड ७५ लाख ९६ हजार रूपैयाँ लागतमा वि.सं.२०७७ जेठ १९ भित्रमा निर्माण सम्पन्न गर्ने गरी नीलगिरी नेशनल जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता गरिएको कार्यालयका डिभिजनल इञ्जिनीयर नारायण बरालले बताए।
उक्त पुल दुई लेन र दायाँबायाँ डेढ मिटर फुटपाथसहित ११ मिटर चौडाइ र ९० मिटर लम्बाइ हुनेछ । भौगोलिक अवस्थाका कारण बक्सब्रिज आकारमा मल्टिसेल बक्सको डिजाइनमा पुल निर्माण गरिने उनले बताए।





















