नवलपुर, २३ बैशाख। उमेरले किशोरास्थामा प्रवेश गरिसकेपछि फरक खालको जोश र जाँगर पैदा हुन्छ। कसैलाई दाम कमाउने त कसैलाई नाम कमाउने भूत सवार हुन्छ, मानसपटलमा। कतिपय आफ्नै देशमा केही गरौँ भन्ने योजना संगालेर काम गर्न थाल्छन् त कतिपय नेपालमा केही हुँदैन भन्दै विदेश जाने सुर कस्छन्।
हो, यस्तै परिस्थितिबाट तनहुँका १९ वर्षिय सुशील गुरूङ पनि टाढा रहन सकेन, जसले गर्दा आफ्नै देशमा भविष्य खोज्ने प्रयासमा हुनुहुन्छ उहाँ। पूर्वपश्चिम राजमार्ग । नवलपुर जिल्लाको गैँडाकोटस्थित हाइवेको विजयचोकबाट करिब डेढसमय मिटर दक्षिणतर्फ लागे कलाकार भीमप्रसाद शर्मा सुवेदीको ‘आर्ट ग्यालरी’ आइपुग्छ ।
त्यही ग्यालरीमा दैनिक घोत्लिइरहने एक जना किशोरको नाम हो सुशील गुरूङ। करिब छ महिनादेखि पुराना कलाकार भीमप्रसाद शर्मा सुवेदीसँगै रङ र कुची समातेर क्यानभासमा चित्र कोर्नमा व्यस्त हुनुहुन्छ उहाँ। चित्रकलामा सानैदेखि भएको रूचिले पनि उहाँलाई क्यानभाससँग स्पर्श गर्न सक्ने बनाएको हो।
तनहुँको दमौलीबाट पोखरा हुँदै गैँडाकोटसम्म आइपुग्नुभएका गुरूङ कला क्षेत्रमै भविष्य खोजिरहनुभएको छ। सँगैका साथीहरु कोही सँगै पढ्दैछन् त कोही विदेश भासिइसके। तर, उहाँलाई भने विदेश जानुभन्दा पनि नेपालमै केही गराँै भन्ने सोँच छ। ‘भोलि राम्रो कलाकार बन्न सकियो भने विदेश भन्ने त घुम्न पाइहालिन्छ नि,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले आफ्नै देशमा केही गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ।’
अग्रज कलाकारको साथ र सहयोगले पनि गुरूङलाई क्यानभास रंग्याउन उर्जा मिलेको छ। ‘पुराना कलाकारहरूको साथ र सहयोग निरन्तर पाइरहेको छु,’ उहाँ भन्नुहुन्छ, ‘जसले गर्दा कला क्षेत्रमै भविष्य खोज्ने प्रयास गरिरहेको छु।’ खासगरि पुराना पुस्ताका कलाकारहरूको तुलनामा नयाँ पुस्ता खासै जम्न सेकका छैनन्। ‘तर सुशील भाइमा मैले राम्रो सम्भावना देखेको छु,’ पुराना कलाकार भीमप्रसाद शर्मा सुवेदी भन्नुहुन्छ, ‘एक दुईजना नयाँ पुस्ताको आगमनले हामीलाई पनि सहज बनाएको छ, खुसी तुल्याएको छ।’
युवा पुस्ताको उपस्थिति न्यून रहेको बेला गुरूङको उपस्थितिले पनि आशा जगाएको उहाँ बताउुनुहुन्छ। ‘सिक्न त धेरै नै बाँकी छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, सुशील भाइले छोटो समयमै राम्रो प्रगति गरेका छन्। लगनशील भएर लाग्ने हो भने नयाँ पुस्ताका भाइबहीनीहरूको लागि यो राम्रो अवसर हो।’
नयाँ पुस्ताले कलाबारे खासै चासो नदेखाइरहेका बेला गुरूङको लगनशीलता र मिहिनेतले कला क्षेत्रमा नयाँ पुस्ताको बलियो प्रतिनिधित्व भएको उहाँको बुझाई छ। कला सिक्ने नयाँ पुस्ताको लागि आर्ट ग्यालरी सधैँ खुला रहेको बताउनुहुन्छ, कलाकार सुवेदी। उहाँ आफँैले पनि केही समय कला क्षेत्रलाई चटक्कै छाडेर बस्नुभएको थियो। एकपटक क्यानाडामा भएको चित्रकला प्रदर्शनीले आफूलाई फेरि पुरानै पेसामा क्रियाशिल बनाएको उहाँ बताउनुहुन्छ। ‘अहिले आफ्नै घरमा आर्ट ग्यालरी खोलेर नयाँ पिढीलाई समेत प्रशिक्षित गराउँदै आउन सकेको छु,’ उहाँ गर्वका साथ आफ्नो कहानी सुनाउँदै भन्नुहुन्छ, ‘जसले गर्दा मलाई पनि आत्मसन्तुष्टि मिलेको छ।’
गुरूङले भने नवलपुर आउनुभन्दा अघि नै रङसँगै कुची खेलाउन सिक्नुभएको थियो। पोखरामा आफ्नै हजुरबुबासँग कुची खेलाउन सिक्नुभएका उहाँले परिवार नै चितवन आएपछि सोही कामको खोजी गर्दै कलाकार सुवेदीको घरमा पुग्नुभएको थियो।
हजुरबुबा आलोक गुरूङ पनि नेपालको एक नामी कलाकारभित्र गनिनुहुन्छ। ‘पोखरामा छँदा पनि विभिन्न खालका मेला महोत्सव तथा प्रदर्शनीहरुमा हजुरबुबासँगै सहभागी हुने मौका मिल्थ्यो,’ गुरूङ भन्नुहुन्छ, ‘त्यसले पनि रङ र ब्रस समात्न केही सहयोग मिल्यो।’ कला क्षेत्रको लागि घर परिवारको राम्रो साथ पाएकोले यो क्षेत्रमा लाग्न सहज भएको उहाँ बताउनुहन्छ। ‘घर परिवारले चित्रकला के हो भन्ने विषयमा राम्रोसँग बुझेकोले मलाई पनि सजिलो भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘घर परिवारले बुझे पनि समग्र नेपाली समाजमा अझै पनि कलालाई बुझ्न सकेको छैन।’
आफूले देखेका दृश्यलाई चित्रमार्फत प्रस्तुत गर्ने प्रयास गर्दै आइरहेका उहाँको भनाइ छ।
अहिले हप्तामा एक दिन कुनै प्राकृतिक आकर्षण रहेको ठाउँमा पुगेर चित्र कोर्ने अभियान चलिरहेकोले आफूलाई पनि सिक्ने मौका मिलेको उहाँ बताउनुहुन्छ। चितवन नवलपुर क्षेत्रमा रहेका कलाकारहरूको समूह ‘हामी कलाकार’ले विभिन्न स्थानमा पुगेर पानी रङमा चित्र कोर्ने काम गरिरहेको छ। नारायणी नदी किनार, सानो गढी, महाबौद्ध गुम्बा, देवघाट, मौलाकालिकालगायतका प्राकृतिक सौन्दर्यले भरिएका स्थानमा पुगेर मौलिक सभ्यता र संस्कृतिलाई चित्रमार्फ प्रस्तुत गर्दै आएका छन् ।