चितवन । कृषि उत्पादनलाई जोड दिँदै आत्मनिर्भर बन्न प्रेरित गरिरहेको जिल्लाको इच्छाकामना गाउँपालिकाले लामो समयसम्म बाँझो राखिएको जमिनलाई उपयोग गर्ने नीति ल्याउने तयारी थालेको छ, जसअनुसार बाँझो जमिनलाई प्रयोगमा ल्याई व्यावसायीक खेती गर्ने सामूहिक कृषि फर्महरुलाई अनुदान उपलब्ध गराउने गरी १ करोड रकम व्यवस्था गरिएको पालिकाले जनाएको छ।
कम्तीमा ३ वर्षभन्दा बढी समयदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याई व्यावसायिक कृषि खेती गर्ने समूहलाई प्रोत्साहन दिलाउन गाउँपालिकाले उक्त नीति ल्याउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार यो अनुदान प्राप्त गर्नका लागि कम्तीमा पनि १० बिगाहाभन्दा बढी बाँझो जमिन आफ्नै वा भाडामा लिई व्यावसायिक खेती गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
‘यो अनुदान रकम कम्तिमा २ वा बढीमा ३ वटा समूहलाई उपलब्ध गराउँछौ,’ उनले भने, ‘अनुदान रकमबाट समूहले भाडा तिर्न, सिंचाइ व्यवस्थापन गर्न, कृषि यन्त्र खरिद गर्नलगायतमा खर्च गर्न सक्नेछ।’ अनुदान रकम वितरणको लागि गाउँपालिकाले कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुर्याएको उनले बताए। कार्यविधि निर्माण गरिसकेपछि कार्यान्यवनमा लैजाने उनको भनाइ छ।
गाउँपालिकाभित्र उपयोगविहीन अवस्थामा आइपुगेको जमिनको सदुपयोग गराइ कृषि उत्पादनलाई बढावा दिने र युवाहरुलाई स्वदेशमै रही कृषि उत्पादनसँग जोड्न सकिने गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। ‘हामी अधिकतम प्रयास गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाई कृषि उद्यमशील बनाउन लागिपरिरहेका छौ,’ उनले भने।


























