काठमाडौँ । सहरी विकास मन्त्री विक्रम पाण्डेले अब नेपालमा विद्युतीय सवारीसाधानको प्रयोग बढाउनुपर्ने बताएका छन्। दीगो गतिशिलताका लागि एकीकृत यातायात विषयक अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री पाण्डेले कार्वन उत्सर्जनमा कमी आउने खालका सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन्।
मानवजगतको लागि यातायातका साधन अत्यन्तै अपरिहार्य वुस्तु भएकोले यसलाई पनि समयअनुसार प्रयोगमा परिमार्जन गराउँदै लैजानुपर्ने उनले बताए। नेपालको परिप्रेक्षमा करिब ९० प्रतिशत यातायात सडकमार्फत नै गर्नुपर्ने बाध्यता रहेको हुँदा सडक यातायातलाई ध्यानमा राख्दै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ छ।
‘यातायात पूर्वाधार र सेवाको विकास गर्ने क्रममा यसको दीगोपना, वातावरणमा पर्ने प्रभाव न्यूनीकरण, समावेशिता, सुरक्षा, सर्वसुलभता र एकीकृत यातायात प्रणालीको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग, कार्बन उत्सर्जनमा कमी ल्याउने साधनको प्रयोगलगायतका विषयमा जोड दिनु आवश्यक छ।’
यसका लागि आवश्यक नीति सरकारले ल्याइसकेको बताउँदै मन्त्री पाण्डेले विज्ञहरूसँगको सल्लाह र सहोगमा तीनको प्रभावकारी कार्यान्वयन सम्भव रहेको बताए। नेपालमा हालसम्म विभिन्न स्तरका करिब एक लाख किलोमिटर सडक निर्माण भइसकेको उनले बताए। तर सहरी क्षेत्रमा बढ्दै गएको तीव्र जनघनत्व र सहरीकरणका कारण कार्यान्वयनमा भने उत्तिकै चुनौती रहेको मन्त्री पाण्डेको भनाइ छ।


























