काठमाडौँ । गृहमन्त्री पद नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका पार्टी सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेपछि पार्टीले सरकार छोड्ने निर्णय गरेको हो।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीले दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताए। उनका अनुसार रास्वपाका मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै छन्।
सरकारबाट बाहिरिने निर्णय भएसँगै रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका पार्टी उपसभापति डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पदभार सम्हालेको १९ दिनमै सरकारबाट फिर्ता हुने भएका छन्।
पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उपप्रधान एवं गृहमन्त्री बनेका रवि लामिछाने नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट माघ १३ गते नै सांसदसमेत नरहने गरी पदमुक्त भएका थिए।