चितवन । यस वर्ष भरतपुर महानगरपालिकाले लक्ष्यअनुसारको कर संकलन गर्नेमा शंका उब्जिएको छ। आर्थिक वर्ष ०७९/०८० को ६ महिनासम्ममा पनि जम्मा २७ प्रतिशत मात्रै राजस्व संकलन भएपछि मेयर रेनु दाहाल नै असन्तुष्ट बनेकी छन्। राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु १ अर्ब संकलन हुनेमा समेत उनले आशंका व्यक्त गरिन्।
बिहीबार महानगरपालिकाको सभाहलमा भएको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमिप्रति चिन्ता व्यक्त गरिन्। महानगरले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
तर, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यको जम्मा २७ प्रतिशत मात्रै राजस्व संकलन हुनुले निराशा पैदा गराएको मेयर दाहालले बताइन्। महानगरपालिका हुनलाई न्युनतम रु १ अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ। महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ।
महानगरपालिकाले आन्तरिक आम्दानी कमि भए पनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौका आयोजनाहरु सञ्चालन गर्दै आएको छ। तर भरतपुरकै राजस्व संकलनको अवस्था भने निकै टिठ लाग्दो रहेको उनले बताइन्। उनले करको दायरा फराकिलो पार्दै अभियानलाई तीव्ररुपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिएकी छन्।
कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन्। भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ।



























