चितवन । उद्योग वाणिज्य संघ चितवनले बिहीबार संघको ६३औँ स्थापना दिवस मनाएको छ। संघको स्थापनाकालदेखि हालसम्म भएका गतिविधिमाथि समीक्षा गर्दै स्थापना दिवस मनाएको हो। संघका पूर्वअध्यक्ष केएल भूषणको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो।
सोही अवसरमा संघले निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराएको थियो। भरतपुरस्थित नेशनल सिटी अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा चितवन महोत्सव–२०७९ मा टिकट लिएर महोत्सव अवलोकन गर्नेहरूमध्येबाट तीन जनालाई पुरस्कृत गरिएको छ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अवलोकनकर्ताले मोडुलाज फर्निचरबाट पुरस्कार प्राप्त गर्ने संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षहरु सहनलाल प्रधान, प्रचण्डलाल प्रधान, फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकरप्रसाद कँडेललगायतले पनि बोलेका थिए।



























