चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताएका छन्। श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा बिहीबारदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डेले नेपाल पूर्ववतरुपमा शान्त र सुव्यवस्थित हुनुपर्ने बताए।
‘यो भूमि पूर्ववतरूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवानगँग पुकार गर्छु,’ उनले भने। यो महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो। विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए। यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने विश्वास व्यक्त गरे। महायज्ञका लागि सबैले सहयोग गर्न पनि मन्त्री पाण्डेले अपलि गरे।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य विनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशङ्कर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोलेका थिए। महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताए। एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते रु एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले बताए।
महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ। जौ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ। योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उनले बताए। नेपालमा कोटिहोम महायज्ञका अध्येता, सङ्कल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो।
महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ। तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन्। – रासस


























