काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरको विमान पोखरामा दुर्घटना भएको छ। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो। उद्धार कार्य जारी रहेको हुँदा घटनाबाट के कति क्षति भयो भन्ने विषयमा विवरण आउन बाँकी छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो। पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए। नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो।


























