चितवन । पुल निर्माणको लागि भित्ता काट्नुपर्ने भएपछि पुस ५ गतेदेखि दिउँसो बन्द भएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार र आइतबार दिनभर खुला रहने भएको छ। माघे सङ्क्रान्ति पर्वको लागि दुई दिन सवारी नरोकिने नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ।
माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटधाममा टाढाटाढाबाट भक्तजनहरू आउने हुँदा उनीहरूको सुविधाको लागि पनि दुई दिन सडक खुला गर्ने निर्णय भएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए। यसअघि गत पुस ५ गतेबाट एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।
तर, तोकिएको समयभित्र पहरा फोर्ने काम सकिने अवस्था नदेखिएपछि त्यसलाई समय थप गरेर काम गर्ने तयारी भइरहेको उनले बताए। यो सडकखण्डमा पर्ने पुलमध्ये पाँच पुल हाल निर्माणाधीन अवस्थामा छन्। त्यसमध्ये पनि तीनवटा पुलको भित्तो काट्ने काम सकिएको छ। सिमलताल, कालीखोला र नान्सी खोलाको पुलको काम सकिएको हो। चिन्सेन्जी र तुइन खोलाको पुलको भित्तो काट्ने काम भइरहेको छ।
तुइनको दायाँपट्टिको भित्तो काट्ने काम ३० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। चिन्सेन्जीको भने ७० प्रतिशत सकिएको आयोजना प्रमुख कार्कीले जानकारी दिए। यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन्। यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए।


























