चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ। उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो। कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना छन्। उनीहरुसँग चारजना आश्रित बालबालिका छन्। उनीहरुलाई पुस १२ गते स्थानान्तरण गरिएको उनले बताए। भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको हो।
यसअघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन। जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो। कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन्। २५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च छ। छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो।
पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो। चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उनले बताए।
Facebook Comments


























