चितवन । चितवन महोत्सवले पाँच दिनसम्म खाना महोत्सव गर्ने भएको छ। चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवअन्तर्गत नै खाना महोत्सव गर्न लागेको उद्योग बाणिज्य संघ चितवनले जनाएको छ। पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सव नारायणी नदी किनारमा भए पनि खाना महोत्सव भने क्याम्पाचौरमा हुने संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। चितवनको परम्परागत खानाको परिकारलाई प्रवर्द्धन गराउने उद्देश्यले खाना महोत्सवलाई पनि स्थान दिइएको उनले बताए।
यता नारायणी किनारमा हुने मुख्य महोत्सवमा भने कृषि, पर्यटन तथा शिक्षा र स्वास्थ्यलाई जोड दिइएको संघले जनाएको छ। कृषिमा पनि विशेष गरी पोल्ट्री, केरा तथा माछालाई जोड दिइएको छ। महोत्सवमा सात वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टल रहनेछ।
महोत्सवमा राखिने सम्पूर्ण स्टलको बीमा गरी थप सुरक्षित बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजाति समुदायको संस्कृतिलगायतका विषयवस्तु झल्कने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
त्यसबाहेक पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीसमेत सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको श्रेष्ठले बताए। आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ।


























