चितवन । तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपालले नेपालले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रविन गुरूङले जानकारी दिए।
‘छत्रमानसिंह/कमला गुरूङ पत्रकारिता पुरस्कार’बाट कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ (पोखरा)लाई प्रदान गरिएको छ । यो पुरस्कार जनही २० हजार राशिको हो।
यस्तै भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट टिभी कालिकाकी गीता गुरूङ (चितवन)लाई प्रदान गरिएको छ। लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरके टेलिभिजनका देवराज गुरूङ (ताप्लेजुङ)लाई प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् तमू सञ्चारकर्मी संघ नेपालका पूर्वअध्यक्ष डण्ड गुरूङले जानकारी दिए।
तमू ल्होसार मूल आयोजक पुरस्कार भने बिएफबिएस रेडियोका धनजंग गुरूङ (काठमाडौं)लाई प्रदान गरिएको छ भने तमू आदिकवि पुरस्कार मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर)लाई प्रदान गरिएको छनौट समितिका संयोजक गुरूङले जानकारी दिए।
कास्कीका गुरूङ र श्रेष्ठबाहेक बाँकी सबैले पाएको पुरस्कारको राशि भने जनही १०/१० हजार रूपैयाँको हो। काठमाडौँमा भएको उक्त कार्यक्रममा हरेक वर्ष प्रकाशन हुँदै आएको गुरूङ न्यूज डटकम (वर्ष पुस्तक)समेत सार्वजनिक गरिएको थियो।


























