चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव अवधिभर भएको प्रारम्भिक खर्च सार्वजनिक गरेका छन्। चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका चितवन जिल्लाका पूर्वअध्यक्ष पूर्व सांसद एवम् वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेललाई भारी मतान्तरले पराजित गरेपछि उनले चितवन क्षेत्र नम्बर २ का मतदातालाई धन्यवाद दिँदै सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन्। नेता लामिछानेले आफ्ना प्रतिबद्धतालाई यसरी सार्वजनिक गरेका छन्।
आदरणीय चितवन- २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु,
आजबाट विजयको खुसियाली मनाउने सम्पूर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनुभएका शुभकामनाहरुलाई यहीँबाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु। आफ्ना केही कुरा बुंदागत रुपमा राखें।
१) मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)
२) कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३) सबै संघ संस्थाहरुको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्नेछु। तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन। तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै बाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानैपर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टाभन्दा बढी समय लगाउने छैन।)
४) भोज, भतेर, पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिनँ भने माफ गरिदिनुखहोला।
५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरुबारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नुहुने छ।
६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफैँ उपस्थित हुनेछु।
७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झैँ समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार, मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।
८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेलसम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखितरूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको बाकसमा खसाउनुहोला।
१०) लामो लामो राजनीतिक छ्लफलभन्दा सुशासन, समृद्धिका अर्थपूर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तिकरणजस्ता विषयका सटिक र अर्थपूर्ण बहसहरुमा सहभागी हुन म खोजी खोजी आउने छु।
अन्त्यमा, राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज साँझ काठमाडौ जाँदैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईँहरुको सेवामा समर्पित हुनेछु। पूर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नसकिउन्जेल धैर्यपूर्वक बसिदिनुहोला। म सम्भव भएसम्म धेरैभन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने बाचा गर्दछु। हामी आजबाटै काममा लाग्यौं।


























