चितवन । प्रतिनिधिसभाका लागि आफूलाई ठूला भनिएका र पटकपटक सरकार चलाएका दल चितवनबाट नराम्रोसँग पछारिएका छन्। आमनिर्वाचन–२०७९ बाट नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवदीजस्ता पटकपटक राज्यशक्तिमा पुगेका दलहरू पत्तासाप भएका हुन्।
पाँच दलीय गठबन्धन र नेकपा एमाले जस्ता शक्तिशाली दलहरूको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अगाडि केही जोर चलेन। तसर्थ, तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनको दुई वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले नै कब्जा जमायो। क्षेत्र नं.३ मा भने अघिल्लोपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट पराजित हुन पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले माओवादीकै डा भोजराज अधिकारीलाई हराउन सफल भएका छन्।
यससँगै चितवनमा ठूला भनिएका यी तीनै दल खुम्चिएका छन्। क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल र २ मा सोही पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भए। पूर्वअर्थमन्त्री र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे कुनै दिनका आफ्नै कार्यकर्ता हरि ढकालसँग पराजित हुन पुगे भने प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ रवि लामिछानेबाट पराजित भए।
प्रतिनिधिसभामा हाल व्यहोरेका यी तीनै दलले प्रदेशसभामा भने बीउ जोगाएका छन्। नेकपा एमालेले चितवन क्षेत्र नं.१ को १ र २ को १ बाट चुनाव जितेका छन् भने नेपाली कांग्रेसले चितवन क्षेत्र नं.२ को २ बाट चुनाव जितेका छन्। यस्तै एकीकृत समाजवादीबाट चितवन क्षेत्र नं.१ को २ र माओवादी केन्द्रबाट चितवन क्षेत्र नं.३ को २ बाट एक जना सदस्य पाएको छ। क्षेत्र नं.३ को १ बाट भने राप्रपाका बागमती प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामा निर्वाचित भएका छन्।

























