चितवन । प्रतिनिधिसभा सदस्यको लागि चितवनबाट ठूला दल नराम्रोसँग बढारिएका छन्। आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेसजस्ता शक्तिशाली दल नै यसपटक पछि परे। चितवन क्षेत्र नम्बर १ र २ मा रवि लामिछाने नेतृत्वको नयाँ शक्ति दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कब्जा जमायो भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले चुनाव जितेपछि प्रतिनिधिसभामा चितवनबाट प्रतिनिधित्व गर्ने तीन ठूला दलको संसदीय उपस्थिति शून्य बन्न पुगेको छ।
क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेबाट गठबन्धन दलबाट नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ फराकिलो मतान्तरसहित पछि परेका हुन्। चितवन १ नेकपा एमालेका नेता स्वर्गीय जागृतप्रसाद भेटुवालकै पालादेखि हालसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्र हो। १ मा पनि दुई कार्यकाल नेकपा एमालेले नै जितेको क्षेत्र हो। ३ भने यसअघि नेकपा माओवादीले जितेको क्षेत्र हो।
तर यसपटकको नतिजाले ठूला भन्ने दललाई नै जनताले पाखा लगाइदिएका छन्। जसले गर्दा ‘हेभि वेट’ भनिएका नेताहरु नै यसपटकको निर्वाचनमा नराम्रोसँग पछारिन पुगे। बलियो गठबन्धनका बाबजुद पनि क्षेत्र नम्बर १ मा डा विश्वनाथ पौठेल, २ मा उमेश श्रेष्ठ र ३ मा डा भोजराज अधिकारी पराजित भए। नेकपा एमालेका तर्फबाट भने पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेल पराजित भए। ठूला दलको प्रतिनिधिसभामा उपस्थिति शून्य देखिए।


























