चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन-१ बाट आफ्नै कार्यकर्तासँग पराजित भएका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट उमेदवार बनेका नेता पाण्डे अघिल्लो निर्वाचनसम्म आफ्नै कार्यकर्ता भएर काम गरेका हरि ढकालसँग पराजित भएका हुन्।
२०४० सालमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ पिठुवामा जन्मिएका ढकालको राजनैतिक यात्रा नै नेकपा एमालेबाट सुरु भएको हो। विद्यार्थीकालदेखि नै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएपछि राजनैतिक यात्रा सुरु गरेका ढकाल अनेरास्ववियु चितवनको सचिवसम्म बनेर काम गरे। २०७४ सालको निर्वाचनमा उनै सुरेन्द्र पाण्डेलाई जिताउन हरप्रयास गरेर लागे।
करिब डेढ दशक सेयर कारोबारीका रूपमा सक्रिय भएका ढकाल तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारबारे लिएको नीति चित्त नबुझेका कारण पार्टी छाडेपछि लगानीकर्ता दबाब समूहका अध्यक्षसमेत भएर काम गरे। त्यसपछि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँका मेयर बालेन्द्र शाहलाई चुनाव जिताउन पनि भूमिका खेले, जुन सफल पनि भयो। त्यसयता भने राजनीतिमा पुनरागमन हुने योजना बनाइरहेका ढकाल पूर्वसञ्चारकर्मी रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग ठोक्किन पुगे।

मतपरिणाम सार्वजनिक भएपछि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हरि ढकाल
तिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसपटकको निर्वाचनमा उनी चितवन-१ को प्रतिनिधित्व गर्दै संघीय संसद छिर्न सफल भएका छन्। यतिमात्र होइन, उनीसँग प्रतिष्पर्धामा रहेका एमालेका नेता पाण्डे र गठबन्धन दलबाट उमेदवार बनेका नेपाली कांग्रेसका उमेदवार डा विश्वनाथ पौडेल दुवै अर्थविदका रुपमा परिचित छन्। तर तिनै अर्थविदहरुका अगाडि उनले चुनाव जितेर देखाइदिए। यसले नेकपा एमाले र गठबन्धन दलभित्र नै खैलाबैला मच्चिएको छ।
उनले नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई ७ हजार ५८१ मतान्तरले जीत हासिल गरेका हुन्। ढकालका प्रतिद्वन्द्वी पाण्डेले २६ हजार ६०८ मत ल्याउँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले जम्मा २४ हजार ९९० ल्याए। चौथो स्थानमा देखिएका राप्रपाका माधव भट्टराईले भने २ हजार ७४८ मत प्राप्त गरे। कुल ९५ हजार ४१ मत गणना भएकोमा ९१ हजार ४२० मत सदर र ३ हजार ६१२ मत बदर भएको थियो।


























