चितवन । यतिखेर गठबन्धनको नाउँमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादीसहितका पाँच दल एकातिर र नेकपा एमाले अर्कातिर उभिएको छ। यसरी शक्ति बाँडफाँडको खेलबाट दुवैले आ-आफ्नो पक्षमा जीत हात पार्ने दाउ लिएर निर्वाचनमा होमिएका ठूला दल चितवनबाट नराम्ररी बढारिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले पनि चितवनको तीनवटै निर्वाचन क्षेत्रमा ठूला दललाई बढारिदयो। निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस र एमालेका उम्मेदवार थिएनन्। त्यसैको फाइदा पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उठाउँदै छन्।
नेपाली कांग्रेसले गठबन्धनको नाउँमा माओवादी केन्द्रका नेता डा भोजराज अधिकारीलाई उम्मेदवार बनाए पनि जीत्ने सम्भावना टर्दै गएको छ। एमाले र कांग्रेसले उम्मेदवार उठाएको क्षेत्र नम्बर १ र २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीले कब्जा जमाइदिएपछि दुवै दलले चितवनको नेतृत्व गुमाएका छन्। भरखरै जन्मिएको स्वतन्त्र पार्टीका सामु गठबन्धन र एमालेको पनि केही जोड चलेन। तसर्थ दुवै क्षेत्र गुमाउन बाध्य भयो।
चितवन क्षेत्र नम्बर १ नेकपा एमालेका नेता स्वर्गीय जागृतप्रसाद भेटुवालको पालादेखि नै नेकपा एमालेले एकछत्र राज गरेको क्षेत्र हो। क्षेत्र नम्बर २ पनि नेकपा एमालेले नै किलो गाडेर बसेको क्षेत्र हो। तर स्वतन्त्र पार्टीको उदयले एमालेको आफ्नो किल्ला नै भत्काइदिएको छ। यसले ठूला पार्टीभित्र ठूलै भुइँचालो ल्याइदिएको छ। फलस्वरुप ती दलका उम्मेदवार प्रदेश संरचनामा खुम्चिन बाध्य भएका छन्।
यदि स्वतन्त्र पार्टीले प्रदेशतर्फ पनि उम्मेदवार उठाएको भए ठूला पार्टीको हविगत के हुन्थ्यो होला भन्ने प्रश्न अहिले बहसको विषय बनेको छ। नयाँ उदाउँदै गरेका र साना दलप्रति जनमत आउनुले ठूला दलप्रतिको वितृष्णा र ठूला दलले जनताप्रति देखाएको अकर्मण्यताको अचुक प्रमाण भनेर पनि बुझ्न थालिएको छ।


























