चितवन । चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले मंसिर ४ पछि दश वर्षमा गर्ने काम पाँच वर्षमै गरेर देखाउने दाबी गरेका छन्। भरतपुर–२० चनौली बजारमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले गएको पाँच वर्ष आफ्नो अनुपस्थिति रहँदा पश्चिम चितवनको विकासमा पाँच वर्ष पछि धकेलिएको बताएका हुन्। पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले २०७४ सालको निर्वाचनमा जनताले चुनेर पठाएको नेतृत्वले जनताको मतको सदुपयोग नगरिदिँदा जनताले दुःख पाएको बताए।
मंसिर ४ गते हुन लागेको निर्वाचन यसअघिका निर्वाचनभन्दा फरक र विशेष हुने उनले बताए। त्यसैले यो निर्वाचनमा सही नेतृत्व चुन्ने मौका गुमाएमा देश विकासमा २० वर्ष पछि धकेलिने बताउनुभयो। गएको पाँच वर्षकै अवस्था हेर्ने हो भने पनि देशबाट युवाहरूको विदेशिने लहर कम हुनुको सट्टा झन् बढ्दै गएको नेता पाण्डेले बताए। ‘त्यतिले नपुगेर एक हजार सांसद पाल्नुपरेको छ, दुईसय जति मन्त्री पाल्नुपरेको छ,’ उनले भने, ‘ती सब मन्त्री र सांसद पाल्नकै लागि देशले धान्न नसकेपछि युवाशक्तिलाई विदेश जान प्रेरित गरिरहेका छन्। अब यस्ता विकृतिलाई रोक्नुपर्छ।’
देशलाई विदेश गएका युवाले पठाएको रेमिट्यान्सबाट चलाउनुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशकै आम्दानीले देश चलाउने वातावरण सिर्जना गर्नुपर्ने नेता पाण्डेले बताए। चितवन जस्तो उर्वर भूमि भएको ठाउँमा कृषि उत्पादनलाई बढाउने र पर्यटन प्रवर्द्वन गराउन सके विदेशबाट पठाउने रेमिट्यान्सभन्दा बढी आर्थिक स्रोत स्वदेशमै जुटाउन सकिने उनको भनाइ छ।
७७ जिल्लामा नमुना काम गरेर देखाउने अठोट लिएर यसपटकको निर्वाचनमा होमिएको पनि नेता पाण्डेले बताए। ‘म सांसद बन्ने रहर भएर आएको होइन, देशकै नमुना क्षेत्र बनाउँछु भन्ने सोचका साथ कम्मर कसेर लागेको छु,’ उनले भने, ‘किनकि सुरुवात आफैँबाट गर्नुपर्छ।’

यसअघिको निर्वाचनमा पर्यटकलाई विश्वास गर्दा फर्केर पनि नआउने समस्या बढ्दै गएको उनले बताए। पर्यटकलाई विश्वास गर्दा चितवन–३ तालिम केन्द्र जस्तो मात्रै भएको उनको भनाइ छ। ‘सिक्नुपर्ने काम यहाँ सिक्छन्, प्रयोग गर्नेबेलामा अन्तै जान्छन्,’ उनले भने, ‘अब यस्ता पर्यटकलाई विश्वास गर्नुभन्दा पहिले एकपटक सोच्नु आवश्यक छ।’
यसपटकको निर्वाचनपछि चितवनलाई कृषि पर्यटनको क्षेत्रमा विशेष काम गर्ने दीगो सोच बोकेर आएको उनले बताए। पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म जोड्ने गरी पर्यटकीय मार्ग निर्माण गर्ने योजना रहेको पनि उनले सुनाए। यसो गर्दा नारायणी र राप्ती नदीले गरेको खेतीयोग्य जमिन कटानको समस्यासमेत रोकिने उनको भनाइ छ।

‘सफलता पाउनको लागि धेरै काम गर्नै पर्दैन, आफूले थालेको काम मात्रै पूरा गरिदिए त्यसै सफल भइन्छ,’ नेता पाण्डेले भने, ‘त्यसैले मैले मेरो कार्यकालमा बोलेका कामलाई पूरा गर्ने गरी नेतृत्व सम्हाल्नको लागि मात्रै आएको हुँ।’ जनता र किसानका लागि आवश्यक काम गर्दा कुनै कानुन र नीति नियमले छेक्छ भने त्यसलाई शांशोधन गरेर काम गर्न सकिने नेता पाण्डेको भनाइ छ। ‘त्यसैले चितवन–३ मा मलाई जिम्मा दिनुस्, म दश वर्षमा गर्नुपर्ने काम पाँच वर्षमै गरेर देखाइदिन्छु,’ उनले भने, ‘अरू नेताले जस्तो आकाशे पुलको सपना मैले बाँड्न जानेको छैन। जुन काम गर्न सक्छु, त्यत्तिमात्रै बोल्छु।’


























