चितवन । शुक्रबार दिउँसो करिब साढे २ बजे भरतपुर–२१ कञ्चनबस्ती पुग्दा यहाँका आमा समूह निकै उत्साहित देखिन्थे। चितवन क्षेत्र नं.३ को लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्वमन्त्री विक्रम पाण्डेको आगमन भएपछि सरस्वती आमा समूहको टोलीले फूलमालासहितको भजनकिर्तन नै गरेर आतिथ्यताको न्यानोपन दिलायो।
बजाइदेऊ न ताली,
भोट हालौँ यसपालि
भन्दै भजनकिर्तन गरेर छमछमी नाचे यहाँका महिला समूहसहितका स्थानीय।
मंसिर ४ नजिकिँदै गर्दा स्थानीयमा निर्वाचनप्रतिको चासो र आकर्षण पनि बढ्दै गएको देखिन्छ। हुन त सबै नेता आउँदा यसरी भजन किर्तन नै गरेर स्वागत गर्ने परिपाटी कमै पाइन्छ। तर, आफूलाई मन परेका नेता आउँदा भने स्थानीयले दिल खुस पारेर भव्य स्वागत गर्छन्, जुन विषयले आउँदो मंसिर ४ पछि चितवन – ३ बाट विक्रम पाण्डेको संसद यात्रा सहज भएको अनुमान लगाउन सकिन्छ।
यहाँका महिलाहरूले चितवन ३ का लागि विक्रम पाण्डेको विकल्प नभएको भन्दै नेता पाण्डेलाई जिताउन अभियान नै चलाएको बताए।

पाँच वर्ष बिताउने,
विक्रम पाण्डे जिताउने
ठूला दल तथा तिनका नेतालाई पटकपटक हेरे पनि विकासको नाममा भाषण दिएर शासनमात्रै गरेर ठाउँ सरेको महिला समूहकी अध्यक्ष कमला पोखरेलले बताइन्। यहाँ आउन त अन्य उम्मेदवार पनि आएका छन्। तर, विक्रम पाण्डेप्रतिको भएको जस्तो झुकाव अरु नेताप्रति नभएको उनले बताइन्।
भोट हालौँ हलोमा
तपाइँ हाम्रो भलोमा
विक्रम पाण्डे नै चितवनको विकासका लागि पर्याय भएको उनको भनाइ छ। जो आए पनि मुखले विकास गर्छु भन्ने, तर व्यवहारमा क्यै नगर्ने हुँदा यसपटक यो समूहको मन फेरिइको उनले बताए।
विक्रम हाम्रो आशा
चितवन–३ को विकास
यहाँ सबै दलसँग आस्था राख्ने मतदाता छन्। तर, यसपटक पार्टी र आस्था जुनसुकै ठाउँमा रहे पनि विक्रम पाण्डेलाई जिताउने योजनामा रहेको कांग्रेसका एक जना सक्रिय सदस्यले बताए। पार्टीको एउटा महत्त्वपूर्ण जिम्मेवारीमा रहेरै काम गरिरहेका उनले भने, ‘आफ्नो पार्टीको उम्मेदवार पनि छैन। गठबन्धन हाम्रो चाहना पनि होइन। त्यसैले यसपटक व्यक्ति हेरेर मतदान गर्ने हो।’
त्यतिमात्र होइन, चितवन क्षेत्र नं.३ मा नेपाली कांग्रेसको ६० प्रतिशत मत विक्रम पाण्डेलाई जाने उनले दाबी गरे। ‘हामीले राप्रपा भनेर मतदान गर्न लागेको होइन, व्यक्ति हेरेर मतदान गर्ने हो,’ उनले भने, ‘विक्रम पाण्डेलाई राप्रपा भनेर मतदान गर्न खोजेका होइनौँ। विक्रम पाण्डे अर्थात् एक जना व्यक्ति भनेर मतदान गर्न खोजेका हौँ।’

पार्टी र आस्था एक ठाउँमा रहे पनि नेतृत्व चुन्ने बेलामा विवेक प्रयोग गर्नुपर्ने बेला आएको उनले बताए। ‘आफ्नै नेतृत्व छान्न कि त पार्टीले आफ्नै उम्मेदवार दिनुपर्छ, होइन भने स्वतन्त्र भएर मतदान गर्न पाउनुपर्छ,’ उनले भने, ‘यसपटक प्रतिनिधिसभामा हाम्रो पार्टीको उम्मेदवार नभएकोले स्वतन्त्र मतदान गर्ने सोचमा छौँ।’
त्यसो त उम्मेदवारी दर्ता गरेदेखि नै विक्रम पाण्डेको चर्चा चुलिँदै गएको छ। यसपटकको निर्वाचनमा नेता पाण्डेलाई विजयी हुन पनि सहज देखिन्छ। नेता पाण्डेले भने यसपटक आफ्नो योजनालाई जनताले मन पराएकाले चुनावी एजेण्डाकै आधारमा चुनाव जित्ने बताए।
‘सामान्य भुइँमान्छेको समस्या समाधान गर्नको लागि म मैदानमा उत्रिएको छु,’ उनले भने, ‘मैदानमा उत्रिएको योद्धाले यसपटक जितेर जनताको काम गर्छ।’ अबको पाँच वर्ष जनपक्षीय काम गर्नको लागि आफू जनतामाझ प्रस्तुत भएको उनको भनाइ छ।
नेता पाण्डेलाई आफ्नो निर्वाचन क्षेत्रमा आम मतदाताले जयजयकार गरिरहेका छन्। हरेक दिनको घरदैलोमा नेता पाण्डेलाई जीतको शुभकामना दिएका छन्। मतदाताले देश र धर्म बचाउनका लागि विक्रम पाण्डे नै काफी भएको बताउँदै आएका छन्।


























