चितवन । भरतपुर महानगरपालिकाले मंगलबार रामनगर क्षेत्रका होटल, पसल तथा उद्योगहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा होटल र उद्योगमा बढी फोहोर भेटिएको भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए।
गत हप्तादेखि शुरु भएको संयुक्त बजार अनुगमन टोलीले मंगलबार भरतपुर महानगरपालिकाको वडा नम्बर १ को नारायणगढ तथा रामनगर क्षेत्रका व्यापार व्यवसायमाथि अनुगमन गरेको थियो। अनुगमनका क्रममा नारायणगढको परिवार पाउरोटी उद्योगमा म्याद नाघेको पाउरोटी भेटिनुका साथै सरसफाइमा ध्यान नदिइएको शाखा अधिकृत सापकोटाले जानकारी दिए।
त्यस्तैगरी रामनगरका होटलहरुमा पनि सरसफाइमा ध्यान नदिइएको उनले बताए। कतिपय होटेलमा ग्राहक नआउँदै खाना पस्केर राखेको अवस्थामा भेटिएको उनले बताए। ‘ग्राहक नै नआउँदै खाना पस्केर राखेको भेटिएपछि २० सेट खाना नष्ट गर्यौँ,’ उनले भने। केही होटलले भने अझै पनि मूल्यसूची नराखेको, व्यवसाय नवीकरण नगरेकोलगायतका समस्या भेटिएको थियो।
भरतपुर-१ पोखरा बसपार्कमा एउटा मासु पसल मापदण्डविपरीत सञ्चचालन भएको पाइएकोले ३ दिनभित्र मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख डा श्यामराज देवकोटाले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा व्यवसायीलाई मापदण्ड पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न, मूल्यसुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, बिल भर्पाइलाई छरितो बनाउनलगायतका विषयमा सचेत गराइएको छ।

चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुन सक्ने भन्दै त्यसतर्फ पनि सजग गराइएको उनले बताए। सोही क्रममा २ वटा पसललाई भने सरसफाइ नभएको भन्दै जरिवाना लगाइएको छ। अनुगमनमा भरतपुर महानगरपालिकासँगै जिल्ला प्रशासन कार्यलय चितवन, जिल्ला प्रहरी कार्यलय चितवन, उद्योग वाणिज्य संघ चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन, महानगरको कृषि, पशुपंक्षी र मत्स्य शाखाका प्रतिनिधि, नगर प्रहरीलगायत सहभागी थिए।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय तहलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ। गत हप्ता मात्रै महानगरले नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रमा गरी ५३ वटा पसलहरुमा अनुगमन गरिसकेको जनाएको छ।


























