चितवन । भन्सार छली गरी ल्याइएको भारतीय माछा चितवनका किसानहरुले रामनगरबाट नियन्त्रणमा लिएको छ। भारतबाट ल्याए पनि रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा नक्कली बिल बनाएर काठमाडौँ लैजाँदै गरेको अवस्थामा लु २ च ६८९८ नम्बरको गाडीमा रहेको दुई टन माछा मंगलबार बिहान ४ बजे चितवनको रामनगरमा नियन्त्रणमा लिइएको नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले जानकारी दिए।
काठमाडौँको कालिमाटी लैजाँदै गरिएको २० पेटी रहु र ३० पेटी बैखी (पंगास) गरी ५० पेटी अवैध माछा नियन्त्रणमा लिइएको उनले बताए। बिलअनुसार चार लाख ५४ हजार रुपैयाँ मूल्यबराबरको उक्त माछा अवैध भएकोले त्यसलाई नष्ट गर्ने विषयमा चितवनका किसान, पशु क्वारेन्टाइन रामनगर, नेपाल प्रहरी र सम्बन्धित व्यापारी तथा गाडी धनीबीच छलफल तथा बयान लिने काम भइरहेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछानेले जानकारी दिए।
चितवनका मत्स्य व्यवसायी भने भारतबाट माछा ल्याएर भेटेरिनरी प्रमाणपत्रमा सही छाप गरेर पठाउने पशु डाक्टर विशाल बास्तोलालाई समेत कारवाही गर्नुपर्ने माग गरिरहेका छन्। नेपाली बजारमा भारतीय माछाको बिगबिगी बढेपछि चितवनका किसानहरुले अनुगमन थालेका हुन्। यही क्रममा सोमबार राति पनि अवैधरुपमा ल्याइएका ५२० किलो माछा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो।


























