चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १० ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। २०७९ असोज ३ गते राति करिब २०:१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट उनीहरुलाई पक्राउ गरिएको हो।
चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने वडा नं. वर्ष २३ का प्रशन्न गुरुङ र सोही वडा वर्ष २२ का सन्तोष परियार, भरतपुर महानगरपालिका वडा नं. १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लम्जुङ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, नवलपरासी जिल्ला (ब.सु.पु.) देवचुली न.पा. वडा नं. १५ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २३ को चेतबहादुर क्षेत्री र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतोलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट स्टिलको थाल थान-२, आधा जलेको रु पाँच र दशको ९ थान नोट (रु ६०), चार थान लाइटर, १२ खिली चुरोट, टुक्रा पारेको अवस्थाको ८ टुक्रा ब्लेड, तीन वटा सिक्कासमेत बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै प्लाष्टिकको स-साना टुक्रा काटी पुरिया बनाएर प्याकिङ गरिराखेको अवस्थामा १५५ वटा पुरियामा लागूऔषध (खैरो हिरोइन) १० ग्राम ५०० मिलिग्रामसमेत बरामद गरेको चितवनका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए। उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको उनले बताए।


























