चितवन । सरकारले बाहिरी मुलुकबाट दूध आयात गर्न लागेको भन्दै चितवनका दुग्ध उत्पादक किसानले विरोध जनाएको छ। यसअघि किसानकै आन्दोलनका कारण विदेशी दूध आयात हुने क्रम रोकिए पनि सरकारले फेरि आयात गर्ने अनुमित दिएको भन्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन्।
स्वदेशमै लगानी गरेका नेपाली किसानले नै नेपालको लागि उत्पादन गरिरहेको बताउँदै संघका चितवन जिल्ला अध्यक्ष रुद्रमणि न्यौपानेले भने, ‘सरकारले नै किसानमाथि लगानी गरेर प्रोत्साहन दिनुपर्नेमा उल्टै यहाँका किसानलाई विस्थापित गराउन खोजिनु गलत छ।’ सरकारले दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्ने अनुमति दिएको उनले बताए।
चितवन जिल्लाको हकमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने संघको दाबी छ। जिल्लामा उत्पादन भएको दूधको ५५ प्रतिशत जिल्लाभित्रै खपत हुने र बाँकी बाहिरी जिल्लाहरुमा जाने गरेको संघका सचिव किशोर बगालेले जानकारी गराए।


























