चितवन । बागमती प्रदेश सभा सदस्य रीना गुरूङले तमू सञ्चारकर्मी संघ (एटजोन) चितवनको लागि अक्षयकोष स्थापना गरिदिने भएको छ। सोमबार संघको जिल्ला शाखा पदाधिकारी तथा केन्द्रीय समितिका सचिव र कार्यसमिति सदस्यहरूसँगको विशेष भेटका क्रममा राप्रपाकी केन्द्रीय सह–महामन्त्रीसमेत रहेकी सांसद गुरूङले आफ्नोतर्फबाट संघको लागि सहयोग गर्ने पुरानो सोच पूरा गर्ने मौका पाएको बताइन्।
नेतृ गुरूङले कम्तिमा पनि एक लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिने बचन दिएकी हुन्। चितवन जिल्लामा पनि तमू (गुरूङ) समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको उत्थान र संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिने योजना बनाएको उनले बताइन्।
‘मेरो सोच र योजना धेरै पुरानो हो, तर बल्ल अवसर जुरेको छ,’ उनले भनिन्, ‘म आफैँ पनि सञ्चारकर्ममै रहेको व्यक्ति भएकोले आफ्नै क्षेत्रको लागि केही न केही गर्नुपर्छ भनेर लागेकी छु।’ सोमबार भएको भेटघाटमा एटजोन चितवनका अध्यक्ष तुलमान गुरूङ, सचिव राजनदिल गुरूङ, सह–सचिव गीता गुरूङ, सदस्यहरू ममता गुरूङ र कमला गुरूङ तथा केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङ, केन्द्रीय सदस्य सीतादेवी तमुस्यो, तमू (गुरूङ)लगायतको उपस्थिति थियो।
संघको लागि तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले कार्यालयसमेत उपलब्ध गराएको छ। महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू ह्युल छोँज धीँ चितवनले निर्माण गरेको संग्रहालय भवनमा कार्यालयको लागि कोठा उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर गुरूङले बताए।