चितवन । विदेश पलायन हुने युवाको संख्या दैनिक बढ्दै जाँदा देश नै युवाविहीन अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता थपिँदै गएको छ। नेपाली दक्ष युवालाई देशभित्रै स्वरोजगारी तथा उद्यमी बनाउन सक्ने विषयमा चितवन उद्योग वाणिज्य संघले चासो देखाउँदै शुक्रबार नेपाली युवा उद्यमी मञ्चसँग अन्तरक्रिया गरेको छ।
उक्त अन्तरक्रियामा संघका अध्यक्ष चुननारायण श्रेष्ठले नेपाली युवालाई आफ्नै मुलुकमा बसेर उद्योग तथा व्यवसाय चलाउन सक्ने वातवारण सरकारले मिलाउनुपर्ने बताए। देशमै बस्दा कुनै पनि युवा आर्थिक हिसाबले सक्षम बन्न सक्ने वातावरण राज्य पक्षबाट हुनुपर्ने उनले बताए। उक्त कार्यमा आम नेपालीको पनि उत्तिकै भूमिका हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष श्रेष्ठले पछिल्लो पुस्तालाई व्यवसायमा लाग्न उत्प्रेरित गराउने खालको नीति सरकारी क्षेत्रबाटै आउनुपर्ने बताए।
मञ्चका अध्यक्ष सूर्यभक्त अधिकारीले भने युवालाई स्वदेशमै उद्यमी बनाउन मेड इन नेपाल प्रोजेक्ट सञ्चालन गर्दै आइरहेको बताए। त्यसबाट केही युवाशक्ति स्वदेशमै आत्मनिर्भर बन्न सक्ने लक्ष्यसहितको योजना ल्याएको उनले बताए। कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ उपाध्यक्षहरू चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली र शिरीष पन्तलगायतले बोलेका थिए। निकट भविष्यमै संघ र युवा उद्यमी मञ्चबीच युवालक्षित कार्यक्रम आयोजना गर्ने सहमति भएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए।


























