चितवन । निरन्तरको वर्षाले जेठ अन्तिम सातादेखि नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको यातायात सेवा चल्ने र रोकिने क्रम चलिरहेको छ। बुधबार पनि यो क्रमले निरन्तरता पाएको छ। यी मार्गका विभिन्न स्थानमा ठूला साना पहिरा झर्ने र गेग्रान थुप्रिने समस्याले सडक खुल्नेभन्दा अवरुद्ध हुने क्रम बढी देखिएको छ।
अहिले पनि चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ को चुमखोला भन्ने स्थानमा बुधबार साँझ करिब ५ बजेको समयमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ठूलो पहिरो खसेकाले सडक सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो हटाउने प्रयास भइरहे पनि पानी पर्न नरोकिएको हुँदा समय लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। सडक अवरुद्ध हुँदा यी मार्ग भएर यात्रा गर्ने यात्रु घण्टौँसम्म जाममा फसेका छन्। यस सडक खण्डमा बुधबारमात्रै तीन पटक पहिरो खसेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।


























