चितवन । निरन्तरको वर्षाका कारण देशकै सबैभन्दा महत्त्वपूर्ण मानिने नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग विभिन्न स्थानमा क्षतिविच्छेद बनेको छ। यसले राजधानीसम्म पुग्नुपर्ने यात्रु र राजधानीबाहिर निस्किएका यात्रु सबैभन्दा मर्कामा परेका छन्। अझ त्यसभन्दा बढी समस्यामा बिरामी तथा वृद्धवृद्धा परेका छन्। पहिराले बाटो थुनिएकै कारण लामो समयसम्म जाममा फसेर बस्नुपर्दा यात्रुहरु पनि भोकभोकै बस्नुपर्ने स्थितिमा छन्। देशकै लाइफलाइन भए पनि तत्काल समस्या समाधान गर्न राज्यको निकाय लाचार बनिदिँदा समस्यामाथि समस्या थपिँदै गइरहेको छ।
यस्तो बेलामा पहिरो हटाउन तत्काल कदम चाल्नुपर्नेमा राज्यको कुनै पनि निकायबाट तीव्र गतिमा काम हुन नसकेको चितवनबाट काठमाडौँको लागि हिँडेका भरतपुर-१५ फूलबारीका किशोर गुरुङले बताए। मुग्लिन-कुरिनटार सडकखण्डमा गएको पहिरोले आवगमन अवरुद्ध हुँदा सयौं यातायातका साधन र हज़ारौं यात्रुहरु गन्तव्यमा पुग्न नसकी बीच बाटोमै अलपत्र परेका उनले बताए। लामो समय सडक जाममा फस्नुपर्दा बिरामी, वृद्धवृद्धा, असक्त, महिला र बालबालिकाहरुलाई थप समस्याको सामना गर्नु परिरहेका उनले बताए।
अत्यावश्यक सेवाका साधन र बिरामी बोकेका एम्बुलेन्सहरु समेत जाममा फ़सेका कारण समयमै गन्तव्यमा पुग्न नसक्दा थप जोखिम बढने सम्भावना देखिएको उनले बताए। न्युन जनशक्तिका कारण सवारी व्यवस्थापनमा कठिनाइ हुनुका साथै गन्तव्यमा पुग्न हतारिने कारण सवारी चालकहरुको होडबाजी, ट्राफिक नियम उल्लंघन तथा अस्तव्यस्तताले थप समस्यासँगै जोखिम निम्त्याएको उनको भनाइ छ। वर्षातको समय सुरु नहुँदै देखिएको यसप्रकारको प्राकृतिक विपत्तिले आगामी दिनमा वर्षातको समयमा हुन सक्ने थप प्राकृतिक विपत्ति र जोखिमको सम्भावनालाई अझ बढाएको उनी बताउँछन्।
यसविषयमा राज्यका सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने उनको सुझाव छ। आकस्मिक विपदले निम्त्याउने समस्या सामाधानको लागि आवश्यक स्रोतसाधन र जनशक्तिसहित विपद व्यवस्थापनको लागि पूर्वतयारी गर्न पनि उनले ध्यानाकर्षण गराएका छन्। वर्षौंदेखि झेल्दै आएको समस्याबाट आम जनताले भोग्नुपरेको सकस र बाटोको निरन्तर व्यवस्थापनमा खर्च हुने राजस्वको ठूलो हिस्साको नोक्सानीलाई ध्यानमा राख्दै दीगो सामाधानका लागि नारायणगढबाट देशको संघीय राजधानीसम्म जोड्ने सडकको वैकल्पिक व्यवस्था गर्न अति आवश्यक भइसकेको उनको भनाइ छ।

पृथ्वी राजमार्गको केबुलकार नजिकको पहिरो। तस्बिर : दानबहादुर गुरुङ
स्थानीय सञ्चारकर्मी दानबहादुर गुरुङका अनुसार दुवै सडकखण्डको अवस्था दर्दनाक बनेको छ। वर्षा हुन पनि नरोकिने र पहिरो झर्न पनि नरोकिने हुँदा सवारीचालकहरु ढुङ्गा खसेको देख्दादेख्दै पनि यात्रा गर्नुपर्ने बाध्यतामा रहेको उनले बताए। ठाउँठाउँमा पहिरो र गेग्रानसहितको लेदो बग्न नरोकिएको हुँदा प्रहरीलाई बाटो खुलाउनसमेत हम्मेहम्मे परेको उनले बताए।
प्रहरीले भने पहिरो झरेको ठाउँमा तत्काल के गर्न सकिन्छ, सोहीअनुसार पहिरो हटाउने प्रयास गर्दै आएको बताउँदै आएको छ। पहिरो झर्दाझर्दै जोखिम मोलेर काम गर्न सक्ने वातावरण नहुने हुँदा केही ढिलाइ भएको चितवन प्रहरीले जनाएको छ। तर प्रहरीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा सम्भावित विपत व्यवस्थापनको लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति चौबीसै घण्टा तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए।
प्राकृतिक विपत्तिसँग सामना गर्नुपर्ने भएकोले सकभर काम नभएमा यात्रा नगर्न उनले सुझाव दिए। यात्रा गर्नै परे पनि मौसम र बाटोको अवस्था बुझेर मात्रै निस्कन पनि उनले सुझाव दिए।


























