चितवन । वर्षासँगै खसेको पहिराका कारण गएरातिदेखि नै अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक खुलेको छ। चितवनको इच्छाकामना–६, तोपेखोलास्थित नाम्सी पुलमा खसेका हटाएपछि बाटो खुलेको चितवन प्रहरीले जनाएको छ।पहिरो हटाउन समय लागेपछि यो बाटोको प्रयोग गरेर यात्रा गर्ने सवारीसाधन जाममा अड्किएको थियो। चारकिलोमा खसेको पहिरोका कारण नारायणगढसम्म नै लामो जाम परेको थियो। बाटो खुलेसँगै जाम हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
पहिराकै कारण इच्छाकामना–४ स्थित नाग्दीखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो। नाग्दीखोलामा भने पहिरो हटाउन अझै समय लाग्ने बताइएको छ। वर्षातको समयमा पहिरोका झरिरहने समस्याले वर्षौँदेखि सर्वसाधारणले कुनै न कुनै यात्रामा अफ्ठ्यारो झेल्दै आएका छन्। पानी नपर्दासमेत सुख्खा पहिरो खसेर दुःख दिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा पानी परेपछि झन् त्रास थपिन्छ।
यात्रुले हरेक वर्ष यस्तै समस्या झेल्नुपरेको हुँदा अब पनि यो बाटोको विकल्प नसोचे जनताले अझै कति पुस्ता पछाडिसम्म दुःख पाउनुपर्ने हुन सक्ने उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले बताए। वर्षौँदेखिको समस्या समाधानको लागि राज्यले विकल्प नसोच्दा जनताले अझैसम्म पनि पहिरोको जोखिममा ज्यानको बाजी थापेर राजधानीको यात्रा गर्न बाध्य भएको उनको भनाइ छ। देशकै पूर्व-पश्चिमलाई राजधानीसँग जोड्ने बाटो भएकोले पनि यो बाटोलाई ‘लाइफ लाइन’को उपमा दिइँदै आइएको छ। यही बाटोले नेपाललाई छिमेकी मुलुक चीन र भारतसँग पनि जोड्ने काम गरेको छ।


























