चितवन । मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। साँझ करिब पौने ७ बजेको समयमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४, रमाइलो डाँडामा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा मोटरसाइकल चालक गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ४ का २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं.को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं.को तेल ट्याङ्करसँग ठोक्किँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
दुर्घटनापछि तनावग्रस्त बनेको राजमार्ग बेलुकी करिब ९ बजेबाट पूर्णरुपमा खुलेको चितवन प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चेपाङको शव भने पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


























