चितवन । नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले आइतबार बिहानदेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको ट्वीनअटर जहाजको खोजी कार्य मौसमको प्रतिकूलताका कारण प्रभावित भएको बताएका छन्। आइतबार संसदमा आफ्नो भनाइ राख्दै मन्त्री आलेले दिनभर खोजी र उद्धार कार्य जारी रहे पनि मौसमकै कारण खोजी प्रभावित हुँदा प्रगति शून्य भएको उनले बताए।
सोमबार बिहानैदेखि पुनः खोजी तथा उद्धारका लागि पोखरामा तीन र जोमसोममा दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए। त्यसका लागि नेपाली सेनाको टोलीसमेत पूर्ण तयारी अवस्थामा राखिएको उनले बताए। ‘उक्त घटनाप्रति पर्यटन मन्त्रालय अत्यन्तै जिम्मेवार र चिन्तित छ। उक्त घटनाले हामीलाई अत्यन्तै दुःखित बनाएको छ,’ मन्त्री आलेले भने, ‘घटनाबारे सत्यतथ्य जानकारी प्राप्त गर्न हामीले दिनभर प्रयास गर्यौँ। तसर्थ हामीले पोखरामा तीनवटा र जोमसोममा दुई वटा हेलिकप्टरसहितका नेपाली सेना स्ट्याण्ड बाइ राखेका छौँ।’


























