चितवन । सरकारले साहित्यिक कृतिहरुबाट श्रष्टाहरूले पाउने रोयल्टीमा लाग्दै आएको कर घटाएको छ। आइतबार संसदमा पेश भएको बजेट वक्तव्यमार्फत कर घटेको हो। यसअघि १५ प्रतिशतसम्म कर लिँदै आएको सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० बाट लागू हुने गरी १ दशमलव ५ प्रतिशतमा झारिदिएको हो। रोयल्टीमा १५ प्रतिशतसम्म कर लगाउँदा साहित्यकारहरूले पाउने रोयल्टी (लेखकस्व)को ठूलो हिस्सा गुम्ने गरेको थियो।
सरकारले बजेट भाषणमै साहित्य सिर्जना गर्नेहरुका लागि सम्बोधन गरिदिएपछि सर्जकहरुमाझ थोरै भए पनि आशा पलाएको साहित्यकार अमर न्यौपाने बताउँछन्। खासगरी सरकारले साहित्यकारहरुका लागि सम्बोधन गर्नुमा उनै साहित्यकार न्यौपानेको योगदान हो भन्दा फरक पर्दैन। न्यौपानेले यही विषयमा सम्बोधन गरिदिन अनुरोधसहित गत वैशाख ८ गते अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए।
लेखकहरुको सामूहिक आवाज भए पनि व्यक्तिगतरुपमा अर्थमन्त्रीलाई भेटेर व्याख्यासहित पत्र थमाएपछि आज लेखकहरुलाई प्रोत्साहन हुने गरी सम्बोधन भएको भन्दै मदन पुरस्कार बिजेतासमेत रहेका लेखक न्यौपानेले खुसी व्यक्त गरे। नेपाली साहित्य बजार सानो भएकोले पनि कर छूट आवश्यक रहेको उनको भनाइ छ। ‘यही सानो बजारलाई विकास गर्न र साहित्यकार तथा लेखकहरुलाई प्रोत्साहन गर्न पनि सरकारले यो कदम चाल्नु पर्ने नै थियो,’ उनले भने, ‘ढिलै भए पनि माग सम्बोधन भएको छ। यसमा हामी खुसी छौँ।’
अर्थमन्त्रीसँगको भेटका क्रममा यसबारे जानकारी गराइसकेपछि नै अर्थमन्त्री शर्मा सकारात्मक भएर आफूले बुझाएको पत्र तत्काल तोक लगाएर सचिवालयमा पठाइदिएको समेत उनले स्मरण गरे। अबदेखि हरेक लेख तथा रचनाका साथै साहित्यिक कृतिहरुबापत्को लेखकस्वमा सरकारले जम्मा १ दशमलव ५ प्रतिशत मात्रै कर लगाउने व्यवस्था लागू हुनेछ।


























