काठमाडौं । अन्ततः काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचन-२०७९ घोषणा भएयता चर्चामा रहेका बालेनलाई काठमाडौंवासीले विश्वास गरेर मेयरको कुर्सी सुम्पिएका हुन्। पहिलोपटक काठमाडौंले तन्नेरी युवाको नेतृत्व पाएको छ। बालेनमात्र नभई उपमेयरमा निर्वाचित सुनिता डङ्गोलसमेत युवा हुन्। मेयरमा बालेन शाहले ६१ हजार ७६७ मत ल्याएर विजयी बनेका हुन्। उपमेयरमा भने ६८ हजार ६१२ मत ल्याएकी नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्।
मेयर पदमा बालेन शाहलाई कांग्रेसकी सिर्जना सिंहले पछ्याएकी थिइन्, जसले ३८ हजार ३४१ मत ल्याएकी छन्। आफैँले जित्ने दाबी गर्दै चर्को भाषण दिँदै हिँडेका एमाले नेता केशव स्थापितले भने जम्मा ३८ हजार ११७ मत पाए। कम बोल्ने तर चाहिने कुरा बोल्ने बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ र तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। सिंहले स्थापितको भन्दा २२४ मत बढी पाइन्।
उपमेयरमा भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६, आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन)ले १३ हजार ६९५, राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ र लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।


























