चितवन। आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले कापी र कलम उपहार दिएको छ। चितवन जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै पार्टीले शुक्रबार कापी र कलम उपहार दिएको हो।
राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सह-महामन्त्री रीना गुरुङ, केन्द्रीय सदस्य मीना न्यौपाने, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाललगायतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन्। हरेक दिन जनताका गुनासा संकलन गर्न जनप्रतिनिधिहरुलाई कापी र कलमसमेत उपहार दिइएको पार्टीका जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए। २०७४ को चुनावको तुलनामा तेब्बर बढी अर्गानिक मत बढेको बताउँदै उनले जनताको मतको उच्च सम्मानका साथ जनताका चाहनाअनुसारका विकास निर्माणका कार्य गर्न आग्रह गरे।
माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिले सुशासनको प्रत्याभूति दिलाएर काम गर्ने बताए भने भरतपुर–२१ का वडा सदस्य सुविता श्रेष्ठको विचारमा राप्रपा विगतभन्दा बलियो बनेको छ। भरतपुर–१२ का वडा सदस्य सञ्जयकुमार थापा भने जनअपेक्षाका कामहरु गरेर वडालाई नमुना वडा बनाइने बताउँछन्।
राप्रपाबाट चितवनमा ११ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। माडीमा २ वडाध्यक्षसहित ७ जना र भरतपुर महानगरमा ४ जना सदस्य निर्वाचित भएका छन्। माडी वडा नम्बर १ को वडाध्यक्ष अमित लामा, वडा नम्बर ८ मा वीरेन्द्रबहादुर भण्डारी, वडा सदस्यहरुमा माडी १ मा जितेन्द्र महतो, मुना धमला लोहार, अप्सरा सुवेदी पराजुली, माडी–८ मा अनिता आचार्य निर्वाचित भएका हुन्। भरतपुर महानगरमा वडा नम्बर ५ मा चन्द्रमणि भुषाल, वडा नम्बर १२ मा सञ्जयकुमार थापा, २१ मा सुविता श्रेष्ठ तामाङ, २५ मा रामहरी पौडेल निर्वाचित भएका छन्।
केन्द्रीय सह-महामन्त्री रीना गुरुङले राष्ट्रवादी शक्तिलाई भत्काउन भएका अनेक चलखेललाई जनताले पराजित गर्दै राप्रपाका जनप्रतिनिधिहरूलाई निर्वाचित गराएको बताइन्। राष्ट्रवादी शक्तिलाई थप सशक्त बनाउन गाउँ–टोलमा संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको उनी बताउँछिन्। त्यस्तै केन्द्रीय सदस्य मीना न्यौपानेले जनप्रतिनिधिलाई काम गर्न जिल्ला कार्यसमितिले पूर्णरुपमा सघाउनुपर्ने बताइन्।


























