काठमाडौं । स्थानीय निर्वाचन-२०७९ मा नेकपा एमाले २०५ सिटमा खुम्चियो। जबकि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९६ सिट हात पारेको थियो। त्यतिबेला २६६ सिटमा चित्त बुझाएको नेपाली कांग्रेसले भने यसपटक ३२७ पालिकाको नेतृत्व गर्ने अवसर पाएको छ। पाँच दल मिलेर संयुक्त गठबन्धन गर्दैगर्दा त्यसको प्रत्यक्ष असर भने नेकपा एमालेलाई परेको देखिन्छ, जसले गर्दा तुलनात्मकरुपमा गठबन्धनको अगाडि एमाले कमजोर सावित भएको छ।
निर्वाचन हुनुपूर्व धेरै ठाउँमा ‘पाँच दल मिलेर आउन् वा एक्लाएक्लै, पहिला जति जितेका थियौं, त्यो भन्दा बढी जित्छौं’ भनेर धक्कु छाड्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली भने एमालेले व्यहोरेको हार स्वीकार्न सक्दैनन्। सत्तारुढ गठबन्धनमा आबद्ध दललाई किलो र एमालेलाई क्विन्टल भनेर विभिन्न मञ्चहरुमा भाषण दिँदै हिँडेका ओली अहिले आफ्नो पार्टी कमजोर हुँदा पनि सहजै कमजोर भएको भन्न हिच्किचाउँछन्।
बरु देशका विभिन्न स्थानमा धाँधली गरेर एमालेलाई हराएको आरोप उनले लगाएका छन्। बिहीबार संसदमा आफ्ना भनाइ राख्दै ओलीले भने, ‘यसपटकको निर्वाचनमा जताजतै हत्या, हिंसा, कुटपिटजस्ता अपराध भए।’ निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा मतदातालाई धम्क्याएको प्रसङ्ग निकाल्दै उनले थपे, ‘फलानालाई भोट नदिए ‘देश दुर्घटनामा जान्छ’ भनेर निर्वाचनको समयमा जनतालाई धम्की दिइयो। यस्तो अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिए, छोराछोरी विदेशिनु परेको सम्झिए, आतंक छाएको सम्झिए, जनता थरथर काम्ने स्थिति बन्यो।’
‘धम्कीपुर्ण अभिव्यक्तिपछि जनताले मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारी–घिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए’, ओलीले संसदमा भने, ‘डडेलधुरामा चुनावका क्रममा रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनेर पनि धम्क्याइयो।’ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणाले डडेल्धुराको निर्वाचन प्रचार–प्रसारका क्रममा कांग्रेसले नजित्ने पालिकालाई बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।


























