चितवन । स्थानीय तह निर्वाचनको मतपरिणाम देशका अधिकांश स्थानमा सम्पन्न भइसकेका छन्। चितवनमा पनि सबै पालिका सकिइसकेको छ। मात्र भरतपुर महानगरपालिका बाँकी छ। जिल्लाको सबैभन्दा धेरै वडा रहेको र क्षेत्रफल पनि ठूलो भएकोले अन्य पालिकाको तुलनामा महानगर क्षेत्रमा मतगणनाको समय धेरै लाग्नु स्वाभाविक हो। तर रोचक कुरा त के हो भने रेनु दाहाललाई जित्नै पर्ने दबाब र एमालेका विजय सुवेदीलाई गठबन्धन हराउनै पर्ने दबाबका बीच मेयरमा रेनु दाहाल अगाडि छिन्।
सबैको ध्यान मेयरमा मात्रै केन्द्रित भइरहँदा उपमेयरमा भने गठबन्धन दलबाट उमेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एकोहोरो अग्रता लिइरहेका छन्। एमालेसँग तालमेल गरेपछि राप्रपाको भागमा परेको उपमेयरले महानगरवासीको मत त्यति जित्न सकेन। र, पनि आम मतदाताले शुरुदेखि नै उपमेयरमा कांग्रेसले जित्ने अड्कलबाजी गरिसकेका थिए। सोहीअनरुप राप्रपाकी हिमला गुरुङ फराकिलो मतान्तरमा चित्रसेनको पछिपछि दौडिइरहेको छन्। चित्रसेन अधिकारीले २३ हजार ६५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले जम्मा १४ हजार ३४९ मत ल्याएकी छन्।
भरतपुरको दश वटा वडाको मतगणना सकिसक्दा यी दुई उमेदवारबीच ९ हजार ३०४ मतको अन्तर छ। अहिले वडा नम्बर ११ र १२ को मतगणना चलिरहेको छ। अधिकारीलाई गठबन्धनसँगै नेकपा एमालेको समेत साथ मिलेको छ भने गुरुङलाई एमालेसँग तालमेल गरे पनि एमालेबाट त्यति सहयोग मिलेको देखिँदैन।
समग्रमा हालसम्मको ताजा मतपरिणाम हेर्ने हो भने मेयर पदमा नेकपा एमालेका विजय सुवेदीले १८ हजार ७५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २१ हजार २६७ मत पाइसकेकी छन्। यस्तै भुइँकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका जगन्नाथ पौडेलले समेत ७ हजार ९८३ मत पाएका छन्। मेयर पदमा हालसम्मको नतिजाअनुसार माओवादीकी दाहाल एमालेका सुवेदीभन्दा ३ हजार १९१ मतले अगाडि छिन्।
मत गणना भइरहेको वडा भरतपुर ११ को वडाअध्यक्षमा नेकपा एमालेले आफ्नो राम्रो उपस्थिति जनाइरहेको छ। एमालेका कमल मल्लले ३ हजार १२ मत ल्याउँदा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका युवराज पाैडेलले जम्मा २ हजार ३४३ मत पाएका छन्। यो तथ्यांक हेर्दा मल्लभन्दा पौडेल ६६९ मतले पछाडि छन्।
यस्तै वडा नम्बर-१२ मा कुल ४ हजार ५३१ मत खसेकोमा वडा अध्ययक्ष पदका लागि ३ हजार २४० मत गणना हुँदा नेकपा एमालेका हरि पन्त ३२० मतका साथ अगाडि छन्। उनले १ हजार ४९२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादी पार्टीका नरेन्द्रकुमार कन्दङ्वाले जम्मा १ हजार १७२ मत पाएका छन्। कन्दङ्वा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए।
Facebook Comments


























